Mobile Ads After Nav

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न गोकर्णेश्वर नपाको निःशुल्क कक्षा

सामुदायिक विद्यालयको गुणस्तर सुधार्न गोकर्णेश्वर नपाको निःशुल्क कक्षा

माघ २७, काठमाडौँ – सामुदायिक विद्यालयको गुणस्तर उकास्न माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा दिने गोकर्णेश्वर नगरपालिकाका विद्यार्थीका लागि ४५ दिने निःशुल्क कोचिङ कक्षा शुरु गरिएको छ ।

नगरभित्र कक्षा १० सम्म सञ्चालन भइरहेका नौ विद्यालयका ५०० विद्यार्थी यो कक्षामा सहभागी भएका छन् । नगरपालिकामा १७ सामुदायिक र ८६ वटा निजी विद्यालय छन् । विद्यार्थीले गणित र विज्ञान विषयको कक्षा माग गरेकाले नगरपालिकाले रु तीन लाख ५० हजार शिक्षकलाई पारिश्रमिक दिएर नयाँ कामको शुरुवात् गरिएको नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले राससलाई जानकारी दिनुभयो ।

कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख सन्तोष चालिसेले सामुदायिक विद्यालयको गुणस्तर खस्कन थालेपछि यो कार्यक्रम ल्याइएको बताउनुभयो । विद्यार्थीले अरु विषय पनि पढ्न चाहेमा निःशुल्क कक्षाको व्यवस्था गरिने उहाँको प्रतिबद्धता थियो ।

“सामुदायिक विद्यालयका संरचना राम्रा छन्, खेलकुद मैदान छ, शिक्षकले तालिम पाएका छन्, तलब पनि राम्रो पाउँछन्, तर गुणस्तर किन कमजोर ?, विद्यार्थी किन कमजोर ?, नगरपालिकाले नै शिक्षा हेर्ने अधिकार पाएकाले अब गुणस्तर सुधार गर्छौं”, उहाँले भन्नुभयो ।

सो अवसरमा स्रोत व्यक्ति रामनारायण साह, नगरपालिकाको शिक्षाको गुणस्तर सुधार समिति सदस्य श्रीकृष्ण ज्योति, अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण नेपाल, चामुण्डा माध्यमिक विद्यालयका प्रधानाध्यापक यादव पौडेललगायतले नगरपालिकाका सामुदायिक विद्यालयको गुणस्तर उकास्न सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।