इलाम– जिल्लाकाे इलाम नगरपालिकाको पूर्विभेगमा रहेको माइजोगमाई गाउँपालिकाका किसानलाई बेसी र गोइरी खेतकाे धान काट्ने चटारो छ। त्यहाँका किसान यतिबेला धान काट्न, मुठा बाँध्न र धान भित्र्याउनमा व्यस्त छन्। कोहि खेतमा धान काटिरहेका छन् भने कोहि परालल बाँधिरहेका छन्।
जिल्लाको अन्न भण्डारको रुपमा चिनिएको बसी गोइरीखेत रोपिएको धान स्याहार्न यहाँका किसान बिहानदेखि बेलुकासम्म खेतमै व्यस्त देखिन्छन्। तीनै व्यस्त किसानमध्येका एक पुष्पबहादुर खत्री करिब २० रोपनी खेतमा लगाइएको धान काट्न ५० जना खेतला लगाएको बताउँछन्।
पर्ममा खेताला आउने चलन उक्त ठाउँमा अहिले पनि कायमै रहेको छ। मानिसहरु आवश्यकता अनुसार एक अर्काको मद्धतमा जुट्ने गरेका छन्। पछिल्लो समयमा मानिसहरुको शहरप्रतिको बढ्दो आकर्षणका कारण गाउँमा ज्यालादारीमा कामदार पाउन मुस्किल भएको खत्रीले बताए। खत्रीले भने, ‘पहिले छिमेकीको घरमा काम गर्न जान्छौं। त्यसपछि त्यही कामको पर्म पैंचो तिर्न उनीहरु आउँछन्। यसरी काम गर्न निकै सजिलो हुन्छ।’
करिब ६ महिनाको बच्चालाई काखमा लिएर खेतमा पुगेकी गंगा तिम्सीनाले खेतमै कोक्रो बनाएर बच्चालाई सुताएकी छिन्। उनी साथीहरुसँग खेतमा धान काटिरहेकी हुन्छिन्। ‘एक्लै काम गर्न सकिँदैन्। गाउँमा पैसा तिरेर खेतला पनि पाइँदैन्,’ उनले भनिन्न् ‘सिंगो गाउँ मिलेर एकापसमा सबैको धान काट्ने, उठाउने र दाइँ गर्ने अर्थात धान र पराल अलग अलग गराउने काम गर्छौं।
घरमा एक्लै भए पनि छिमेकीसँग मिलेर आलोपालो काम गर्दा खेती गर्न सजिलो भएको छ।’ गाउँमा अझै पनि भाइचाराको सम्बन्ध कायम रहेको इलाम माईजोगमाईका ५ का सोयाङ्ग शेर बहादुर राईले बताए। आफुलाई जान्ने र ठूलो हुँ भन्नेहरुमा मानवीयता हराउँदै गए पनि गाउँका सामान्य किसानको यस्तो मेलमिलाप अनुकरणीय रहेको उनको भनाइ छ।