काठमाडौं–नायिका पूजा शर्मा अहिलेकी व्यस्त र सफल नायिका हुन्। उनै पूजा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को छायांकन करिब २ महिनामा सकिएको छ। सोमबार ‘दि भ्वाइस अफ नेपाल’ को स्टूडियोमा यो चलचित्रको क्लाइमेक्स दृश्य खिचिएको हो।
यो चलचित्रको छायांकन सकिएको भोलीपल्टै अर्थात आज नायिका पूजा शर्मा नयाँ चलचित्रको छायांकनका लागि सिलगुडी उडेकी छिन्। उनले अभिनय गर्न लागेको नयाँ चलचित्र ‘संझना विर्सना’ को छायांकन सिलगुडीबाट सुरु हुनेछ। करिब २० दिन यो चलचित्रको छायांकन सिलगुडीमा हुनेछ। यसपछि, एउटा गीतको छायांकन दार्जि्लिङ र केही दृश्यको छायांकन सिक्किममा हुने वुझिएको छ। करिब १ महिना भन्दा बढी समय उनी भारतमा बस्नेछिन्।
पूजाले गतबर्षको फागुणदेखि ‘नन स्टप’ रुपमा काम गरिरहेकी छिन्। उनले चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को छायांकन बेलायतमा सकेर फर्किएसँगै ‘पोई पर्यो काले’ को छायांकन सकिन्। यो चलचित्रको प्रचार अगाडि उनी ‘म यस्तो गीत गाउँछु २’को छायाँङ्कनका लागि इलाम पुगेकी थिइन्। यसपछि उनले चलचित्र ‘पोई पर्यो काले’को प्रचार गरिन्। चलचित्र रिलिजपछि फेरि ‘म यस्तो गीत गाउँछु २’ को छायांकन गरिन्।
आजै सिलगुडी उडेकी पूजा करिब एक महिनापछि नेपाल फर्किएर नयाँ चलचित्रमा व्यस्त हुने बताउँछिन्। आखिर, एकपछि अर्को चलचित्रमा ‘नन स्टप’ किन काम गरिरहेकी छिन् त उनी, भन्छिन्,‘मलाई घरमै बसिराख्न मन लाग्दैन। दर्शकको मायाले कामको अफर आइरहेको छ। चलचित्रको कथा मन परेपछि गरिरहेकी छु।’ चलचित्र ‘पोई पर्यो काले’को व्यापार पनि सुखद नै भएपछि पूजालाई अफर झनै बढेको वुझिएको छ।