तस्वीरः अनलाइन खबरबाट
काठमाडौं–नेपालमा पछिल्लो समय रियालिटी शोहरु लोकप्रिय बन्दै आएका छन्। ‘हिमालय रोडिज’ को तेस्रो सिजन प्रशारणको तयारीमा छ। यो सिजन गत दुई सिजन भन्दा बिल्कुलै फरक रहेको टेलिभिजनले बताउँदै आएको छ। गत दुई सिजनमा ग्याङ्ग लिडर थिएनन्। यस वर्षबाट भने ४ जना ग्याङ्ग लिडर तय भएका छन्। अब भने ग्याङ्ग–ग्याङ्ग बीचमा भिडन्त हुनेछ।
यो सिजनमा ग्याङ्ग लिडर बन्नको लागि आशिष राना ‘लाउरे’, दिया मास्के, पहिलो सिजनका विजेता समन श्रेष्ठ र नायक अनुपविक्रम शाही चुनिएका छन्। कार्यक्रमको होस्ट रेमनदाश श्रेष्ठले गर्नेछन्। यस अघिमा सिजनमा निर्णायकको रुपमा रेमन, आशिष र दिया थिए। यसै सिजनबाट अनुपविक्रम रोडिजको परिवार बनेका छन्। फ्रेन्चाइज रियालिटी शोको परिवार बन्न पाएकोमा आफू निकै खुसी भएको अनुप बताउँछन्।
उनले भने,‘रोडिज’ आफैमा एउटा उत्कृष्ट रियालिटी शो हो। साहसिक शोका रुपमा हेरिने यो शोको बिषयमा धेरै बोलिरहन जरूरत नै छैन। मलाई यसको ग्याङ्ग लिडर बन्न लायक देख्नु भएकोमा रोडिज परिवारलाई धन्यवाद दिन चाहन्छु।’ जसले गर्दा उनको अर्को लोकप्रियता पनि थपिएको छ। रोडिज अनुपलाई मन पर्ने रियालिटी शो हो। उनले भने, ‘मैले रोडिज हेरिरहेकै हुन्थेँ। अहिले, आफू नै यसको सदस्य बन्दा निकै मिहिनेत पनि गरेको छु। सकेसम्म दर्शकको आशालाई पूरा गर्ने प्रयास गरेका छौं।’ अरु ग्याङ्ग लिडर अनुभवी भएकाले पनि आफूलाई चुनौती भएको अनुप बताउँछन्।
‘टिम रेड’ का ग्याङ्ग लिडर रहेका अनुपको अडिसन अनुभव पनि राम्रो रह्यो। अडिसनबाट आफ्नो टिममा परेका प्रतियोगीहरुबाट अनुप खुसी छन्। हिमालय रोडिजको तेस्रो सिजन आफ्नै टिमले जित्ने अनुपको पुरा विश्वास छ। त्यसैले उनी अहिले निकै उत्साहित देखिन्छन्।