काठमाडौं–पहिलो सिरिजबाट नै लोकप्रिय बनेका दुई चलचित्र यतिबेला छायाँकनमा रहेका फिल्म हुन् ‘चपली हाइट–३’ र ‘प्रेम गीत–३’। यी दुबै फिल्मको काठमाडौ उपत्यकाभित्र छायाँकन भइरहेको छ। छायाँङ्कनमा रहँदा फिल्मको छायाँङ्कन स्थल, विषयवस्तु र कलाकारले चर्चा पाउनुपर्ने हो। तर यी दुबै फिल्मका बिषयवस्तुभन्दा पनि रिलिज मितिले चर्चा पाइरहेको छ।
दुवै फिल्मले यो वर्षको अन्तिम डेट चैत्र २८ गते शुक्रबार रिलिज मिति जुराएपछि निर्माणभन्दा रिलिज मिति चर्चाको विषय बनेको हो। फिल्म ‘प्रेम गीत–३’ ले करिव एकवर्ष अगाडि घोषणा समयदेखि चैत्र २८ प्रदर्शनको रुपमा सार्वजनिक गरेको थियो। तर ‘चपली हाइट–३’ ले भने अहिले आएर उक्त मिति फिल्म रिलिज गर्ने घोषणा गरेको छ। यी दुवै फिल्म एकसाथ आउने भएपछि दर्शकमा भने कौतुहलता जागेको छ।
‘चपली हाइट–३’ का निर्माता अर्जुनले आफुले करिब ६ महिना अगाडि चैत्र २८ लाई प्रदर्शन मितिको रुपमा सार्वजनिक गरेको बताए। स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने रहेको ‘चपली हाइट–३’ निकेस खड्काले निर्देशन गरेका हुन्। फिल्मले सस्पेन्स र थ्रिलर बिषय कथाको रुपमा उठाएको छ। यो हिट फिल्म ‘चपली हाइट’को सिक्वेल पनि हो। त्यस्तै ‘प्रेम गीत ३’ पनि हिट फिल्म ‘प्रेम गीत’ कै सिक्वेल हो। दुई सिरिज हिट भएपछि निर्माता सन्तोष सेनले तेस्रो सिरिजको निर्माण थालेका हुन्।
पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्नु अगाडिको बाइससय र चौविससय राज्य हुँदा समयको प्रेमकथा उठाएको यो फिल्म वर्षको महत्वकाँक्षी फिल्म पनि हो। छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहने फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतका कलाकारको अभिनय रहेको छ।