काठमाडौं _ अवैध शुल्क फिर्ता नगर्ने मेडिकल कलेज सञ्चालकलाई बुधबार(भोली)देखी पक्राउ गर्ने निर्णय गरेको छ।
गैरकानुनी रुपमा उठाएको शुल्क फिर्ता नभएपछि मंगलबार अपराह्न बसेको सर्वपक्षीय बैठकले बुधबारबाट मेडिकल कलेज तथा सञ्चालकलाई कारबाही थाल्ने निर्णय गरेको हो।
मेडिकल कलेजलाई सरकारले पन्ध्र दिने र चौबीस घन्टै अल्टिमेटम यसअघि नै दिइसकेको थियो। सो समयमा पनि मेडिकल कलेजले विद्यार्थीबाट उठाएको गैरकानुनी शुल्क फिर्ता नगरेपछि मंगलबार गृह मन्त्रालयमा आकस्मिक बैठक बसेको थियो।
‘बुधबारदेखि विद्यार्थीबाट जाहेरी लिने र सञ्चालकलाई पक्राउ गरी कारबाही थाल्ने निर्णय भएको छ,’ बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीलगायतको उपस्थिती थियो।
गृहले यो निर्णय गरेसँगै शिक्षा मन्त्रालयमा निजी मेडिकल कलेज सञ्चालक र मन्त्री पोखरेलबीच अहिले वार्ता चलिरहेको छ।