भोजपुर– व्यवस्थित भवन नहुँदा भोजपुर नगरपालिका–९ पानीट्याङ्कीस्थित एक विद्यालयमा पठनपाठन प्रभावित हुने गरेको छ। वर्षात्मा पानी चुहिन्छ, हिउँदमा शीत तुषारो खस्छ। पुरानो कमजोर छानासहितको जीर्ण भवन छ।
आवासीय विद्यालय भएकाले सुत्ने र खाने कोठामा पनि पानी तथा शीत छिर्छ। सबै बालबालिका श्रवणशक्ति कमजोर भएका बहिरा छन्। पर्याप्त दक्ष सांकेतिक शिक्षक पनि छैनन्। विद्यालयको कोठा र छात्रावासमा आकाशेपानी चुहिँदा जाग्राम बस्नुपर्ने वा अन्त कतै ठाउँ सरेर बस्नुपर्ने अवस्था भएको विद्यार्थी एलिसा श्रेष्ठले बताईन्।
‘हामीलाई पढ्नभन्दा सुत्न र खाना बनाउन समस्या हुन्छ’, उनले भनिन्, ‘सबै पानी चुहिन्छ, राति पानी पर्दा ठाउँ सारी सारी जाग्राम बस्नुपर्ने बाध्यता छ।’ विद्यालय स्थापनापछि जिल्लाका विभिन्न ग्रामीण भेगबाट श्रवणशक्ति कमजोर भएका विद्यार्थीको भर्ना हुने संख्या बढ्दो छ। विद्यालयमा अहिले बालिकाको सङ्ख्या धेरै छ।
साँघुरो र जीर्ण भवनमै पठनपाठन गर्नुपर्दा सास्ती भएको शिक्षकहरु सुनाउँछन्। फरक क्षमताका बालबालिकालाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले डेढ वर्षअघि भूकम्पले जीर्ण बनाएको भवनमा विद्यालय स्थापना गरिएको थियो। कक्षाकोठा र छात्रावासको राम्रो प्रबन्ध नहुँदा विद्यार्थी–शिक्षक दुवैलाई समस्या हुने गरेको शिक्षक सरिता तामाङले बताईन्। उनले भनिन्, ‘छानो पुरानो र भवन जीर्ण भएकाले वर्षात्मा पानी चुहिन्छ, हिउँदमा शीत पस्छ। कक्षाकोठा पनि साँघुरो छ, छात्रावासमा सबैभन्दा बढी समस्या हुन्छ। पठनपाठनमा असर पुया्एको छ।’
बोल्न र सुन्न नसक्ने विद्यार्थीलाई साङ्केतिक भाषाका माध्यमले पढाइनुका साथै टाढाका विद्यार्थीलाई खाने र बस्ने पनि व्यवस्था मिलाइएको छ। बालबालिकाको संख्या बढ्दै गएकाले भवन थप्नुपर्ने अवस्था भएको शिक्षक शन्तकुमार तुम्बापोले सुनाए। विद्यालयमा अहिले १३ श्रवणशक्ति कमजोर भएका विद्यार्थी छन्। भूकम्पले जीर्ण बनाएको भवनलाई टालटुल तथा घेरबार गरेर विद्यालय सञ्चालन गरिएको छ। रासस