एजेन्सी– जर्मनीमा ६३ वर्षीय एक व्यक्तिलाई घरपालुवा कुकुरले चाटेपछि उनको मृत्यु भएको छ। उक्त व्यक्तिलाई दुर्लभ संक्रमण भएर मृत्यु भएको बताइएको छ। युरोपीयन जर्नल अफ केस रिपोर्ट्स इन इन्टर्नल मेडिसिनको एक जर्नलमा प्रकाशित गरिएको एक खबरका अनुसार ती वृद्ध व्यक्ति स्वस्थ्य नै थिए।
तर, उनलाई आफ्नै घरपालुवा कुकुरले चाटेपछि क्याप्नोसाइटोफागा कानिमोर्सस नामक ब्याक्टेरियाले संक्रमण फैलाएको हो। उक्त ब्याक्टेरिया प्रायः जसो कुकुर र बिरालोको मुखमा पाइने हुन्छ। प्रायः यो ब्याक्टेरिया जनवारले टोकेपछि सर्ने गर्छ तर, ती वृद्धलाई कुकुरले टोकेको भने थिएन। उनलाई केही हप्ताअघि उनलाई कुकुरले छोएको र चाटेको थियो तर टोकेको वा घाइते बनाएको थिएन।
जर्मनीको ब्रेमनमा रहेको रेड क्रस अस्पतालका चिकित्सकहरूले अध्ययनमा शुरूमा ती व्यक्तिले आफूलाई फ्लु लागे जस्तो भएको बताएका थिए। तर, पछि गएर उनलाई कडा खालको सेप्सिस र पर्परा फुल्मिनान्स भयो। उक्त रोग लाग्दा जिउमा ठाउँठाउँमा रगत जमेर छालाको रंग परिवर्तन हुन थाल्छ।
ती व्यक्तिलाई उपचार कक्षमा राखेर उपचार गरिरहदा पनि उनको स्वास्थ्य लगातार बिग्रने क्रममा अनेकौं अंगले काम गर्न छोडेपछि उनको मृत्यु भएको थियो । कुकुरले चाटेपछि फ्लु जस्तो लक्षण देखिएमा तत्कालै चिकित्सकलाई देखाउनुपर्ने भनी चिकित्सकहरूले सचेत समेत गराएका छन् ।