एजेन्सी – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाले फ्रिकिकमा दर्शनीय गोल गरेपछि युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्टसले स्पेनिस प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडमाथि १–० को जित निकालेको छ।
एलियन्ज स्टेडियममा मंगलबार राति भएको खेलमा डिबालाले पहिलो हाफको थप गरिएको दोस्रो मिनेटमा गरेको फ्रिकिक गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो।
निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेको थिए। अघिल्लो खेलमा विश्राम पाएका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले मैदानमा पुरै समय बिताएपनि गोल गर्न सकेनन्।
जितसँगै समूह ‘डी’ बाट युभेन्टस नकआउट चरणमा पुग्न सफल भएको छ। समूहमा अपराजित रहेको युभेन्टसको ५ खेलबाट १३ अंक छ। दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ७ अंक छ।
यही समूहको अर्काे खेलमा जर्मन क्लब बायर लिभरकुसेनले लोकोमोटिभमाथि २–० को जित निकालेको छ। जितसँगै लिभरकुसेन ६ अंक जोडेर तेस्रो स्थानमा उक्लदा लोकोमोटिभ ३ अंक जोडेर पुछारमा छ।