एजेन्सी – घरेलु मैदानमा तीन मिनेटको अन्तरमा दुई गोल खाएपछि रियल म्याड्रिड फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेनसँग बराबरीमा रोकिएको छ।
एक समय रियल २–० ले अगाडि रहेपनि खेल २–२ को बराबरीमा सकियो। यसका बाबजुद रियल च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ। अपराजित पीएसजी यसअघि नै अगाडि बढिसकेको छ।
रियलका लागि करीम बेन्जेमाले नै दुवै गोल गरेका थिए। उनले खेलको १७ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए। इस्कोको सुरुवाती प्रहार पोस्टमा लागेर फर्किएपछि बेन्जेमाले रिबाउन्डमा राम्रो फिनिसिङ गरे।
बेन्जेमाले नै रियलको अग्रता दोब्बर पारे। उनले मार्सेलोको क्रसलाई ६ यार्ड बक्स नजिकबाट हेडरमार्फत गोल गर्दै जित तर्फ अग्रसर गराएका थिए। तर, रियलको डिफेन्समा कमजोरी हुँदा पीएसजीले खेलमा फर्कने अवसर पायो।
थोमस मिउनिएरको क्रसमा रियलका गोलरक्षक थिबाउट कोर्टूवा र डिफेन्डर राफेल भारानबीच तालमेल नमिल्दा किलिएन एमबाप्पेले सहज गोल गरे। त्यसको एक मिनेटपछि नै पाब्लो सराबियाले उत्कृष्ट फिनिस गरे। जुलियन ड्राक्सलरको प्रहार डिफेन्सले ब्लक गरेपनि रिबाउन्डमा सराबियाको प्रहारलाई कोर्टूवाले रोक्ने अवसर नै पाएनन्।
यस नतिजासँगै दुवै टोली अर्को चरणमा प्रवेश गरेका छन्। ५ खेलमा ४ जित र १ बराबरी खेलेको पीएसजी १३ अंकसहित समूह विजेता बनेको छ। रियल ५ खेलमा ८ अंक जोड्दै उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ।