काठमाडौं — फर्जि कागजात बनाएर काठमाडौंको १८ बैंकबाट एकैसाथ १९ लाख रुपैयाँभन्दा बढी चोरी भएको छ।
प्रहरीले चोरी कार्यमा कर्मचारी संलग्न भएको आशंकामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको छ।
यो घटनामा फर्जी कागजको प्रयोगबाट चेक बनाएर अनाधकृत रुपमा रकम निकालेको भेटिएको जनाएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार अहिलेसम्म १९ लाख १९ हजार रुपैयाँचाहिँ बरामद भइसक्यो। त्योबाहेक कुन कुन बैंकबाट कति चोरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताएका छन्।
पक्राउ परेका सबै नेपाली नागरिक हुन्। यसअघि बैंकिङ प्रणाली नै ह्याक गरेर करिब डेढ करोड रुपैयाँ चोरी गरेको आरोपमा भदौ दोस्रो साता ६ जना चिनियाँ नागरिक पक्राउ परेका थिए। घटनाको चर्चा सेलाउन नपाउँदै ७ असोजमा लहानमा रहेको कृषि विकास बैंकको शाखाबाट दुई करोड रुपैयाँ चोरी भएको खुलेको थियो।
दुवै प्रकरणमा संलग्न नेपाली एजेन्ट समातिएका छन् भने मुख्य अभियुक्तको अझैसम्म प्रहरीले पहिचान गर्न सकेको छैन।