काठमाडौं —विभिन्न बैंकमा खाता खोली अरुको हस्ताक्षर नक्कल गरी लाखौँ रुपौँया चोरी गरेको आरोपमा ६ जना गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका–३ का १९ वर्षीय सुभाष श्रेष्ठ, १९ वर्षकै कुमार तामाङ, १८ वर्षीय मनिष घिमिरे, २१ वर्षीय अन्जन बराल, बागलुङ गलकोट नगरपालीका–३ का २५ वर्षीय सुमन पाडेल र सिन्धुपाल्चोकका ३० वर्षीय गोविन्द घिमिरे रहेका छन्।
उनीहरुले खातावालाको चेकमा रहेको हस्ताक्षर चोरी गरी सोही व्यक्तिको नाममा चेक हराएको निवेदन दिएर नयाँ सक्कली चेक नै लिएर रकम निकालेको प्रहरीको भनाइ रहेको छ।
साथै खातावालाको सक्कली भिसा कार्डसमेत लिएको पाइएकोले बैंक कर्मचारीको मिलेमतो र लापरबाही भएको हुन सक्ने भएकोले त्यसतर्फ अनुसन्धान गरिरहेको एसएसपी सुवेदीले बताए। प्राप्त जानकारी अनुसार पक्राउ परेकाहरु सबै बिद्यार्थीहरुनै रहेको बताइएको छ। जसमध्ये गोविन्द र अन्जन प्रमुख योजनाकार रहेका छन्।
पक्राउ परेका सबैलाई पाटन उच्च अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य शुरु गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ। यसअघि बैंकिङ प्रणली नै ह्याक गरेर करिब डेढ करोड रुपैँया चोरी गरेको आरोपमा भदौ दोस्रो साता ६ जना चिनियाँ नगरिक पक्राउ परेका थिए।
त्यसैगरी पुरानो घटना सेलाउन नपाउँदै असोज ७ मा लहानमा रहेको कृषि विकास बैंकको शाखाबाट दुई करोड रुपैँया चोरी भएको खुलेको थियो। दुवै प्रकरणमा संलग्न नेपाली एजेन्ट समातिएका छन् भने मुख्य अभियुक्तको अझैसम्म पनि प्रहरीले पहिचान गर्न भने सकेको छैन।