काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अस्पताल पुगेर चिकित्सकहरुसँगबाट प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन्।
विपक्षी दलका नेता देउवाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चासो लिएका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सभापति देउवाले डाक्टरहरु र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाजसँग भेटेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चासो राखेका छन्।
प्रधानमन्त्रीलाई चिकित्सकहरुले बाहेक अरुले भेट्न नपाएको हुनाले सेन्टरको उपचार कक्षमा रहेका प्रधानमन्त्रीसँग सभापती देउवाले भेट गर्न पाएनन्। मंगलबार मात्र प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो।
प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा गुणात्मक सुधार आएको जानकारी दिए। ‘आज आधा घन्टा कुर्सीमा बस्नुभयो र कालो चिया खानुभयो,’ थापाले भने।