एजेन्सी– चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमीले आफ्नो रेडमी ब्राण्डको नयाँ स्मार्टफोन आगामी डिसेम्बरमा लन्च गर्ने भएको छ। कम्पनीले आफ्नो रेडमी के सिरिजमा के ३० स्मार्टफोन ल्याउन लागेको हो।
कम्पनीका जनरल म्यानेजर लू वाईबिंगले चिनियाँ सोसल मिडिया वेबोमा पोस्ट गरेर सो जानकारी दिएका थिए। सो स्मार्टफोन सिरिजमा के ३० र के ३०प्रो स्मार्टफोन लन्च हुने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार शाओमीका कुनैपनि स्मार्टफोनमा पहिलो पटक ड्यूल पन्च होल डिस्प्ले डिजाइन हुनेछ। यो स्मार्टफोनमा पनि ड्यूल पन्च होल क्यामरा सेटअप हुनेछ। शाओमी रेडमी के ३० सिरिजमा ५जी सपोर्ट हुनेछ भने यसमा ड्यूल मोड नेटवर्क सपोर्ट राखिनेछ। यसको अर्थ यसमा स्ट्याण्डअलोन र नन स्ट्याण्डअलोन ५जी नेटवर्कको सुविधा हुनेछ।
यो स्मार्टफोनमा एन्ड्रोयडमा आधारित एमआईयूआई ११ सपोर्ट हुनेछ भने फोनमा ३० वाट फास्ट चार्जिंग सपोर्ट राखिनेछ। फोनमा ६.६६ इन्चको फूलएचडी प्लस डिस्प्ले राखिने छ भने क्वालकम स्न्यापड्रागन ७०० सिरिजको प्रोसेसर हुनेछ। रेडमी के ३० प्रोमा भने नेक्स्ट जेनेरेशन स्न्यापड्रागन ८६५ प्रोसेसर हुने अनुमान छ।
कम्पनीले यो स्मार्टफोन सबैभन्दा पहिले चीनमा बिक्री शुरु गर्नेछ भने त्यसपछि मात्र अन्य बजारमा ल्याउने छ।