पेरिस — मालीमा हेलीकोप्टर दुर्घटनामा परी कम्तीमा १३ फ्रान्सेली सैनिकको मृत्यु भएको छ।
अफ्रिकी मुलुक मालीको तनाबग्रस्त उत्तरी क्षेत्रमा विद्रोहीविरूद्धको कारबाहीमा प्रयोग गरिएका दुई हेलीकोप्टर एक आपसमा ठोक्किँदा सोमबार १३ सैनिकको मृत्यु भएको हो।
फ्रान्सले यसलाई विगत चार दशकमा आफ्नो सैनिकहरूकोे एउटै घटनामा भएको सबैभन्दा ठूलो क्षति भएको बताएका छन्। विद्रोहीहरू जमिनमा मोटरसाइकल र ट्रकमा चढेर भागिरहेका समय सेनाको लागि बन्दोवस्तीका सामान र खाद्यान्न बोकेको एक हेलीकोप्टर कोउगर र लडाकू हेलीकोप्टर टाइगर एक आपसमा जुध्दा सेनाको मृत्यु भएको मन्त्रालयले बताएको छ।
दुर्घटनामा भएको क्षतिबाट पाठ सिक्दै फ्रान्सको नेतृत्वमा रहेका गठबन्धन सेनाले आगामी हप्ताहरूमा साहेल क्षेत्रमा स्लामिक विद्रोहीविरूद्धको आक्रमणलाई थप सशक्त पार्ने राष्ट्रपति इम्यानुएल म्याक्रोँले बताए। म्याक्रोँले दुर्घटनापछि माली, चाड र नाइजरका राष्ट्रपतिहरूसँग फ्रान्सको एलिसी दरबारमा भेटवार्ता गरेपछि उक्त कुराबारे जानकारी दिएका हुन्।
मालीसहित चार पश्चिमी अफ्रिकी मुलुकमा फ्रान्सले चार हजार ५ सय ‘बार्खाने’ बल प्रयोग गरी स्लामिक विद्रोहीको सशस्त्र आक्रमणलाई अभियानका रूपमा निस्तेज पार्दै आएको छ। एजेन्सी