डोटी– महासंघका डोटी शाखा सदस्य तेजबहादुर खड्का हराएको १५ महिनापश्चात अस्थिपञ्जर फेला परेको घटनालाई नेपाल पत्रकार महासंघले गम्भीरतापूर्वक लिएर अनुसन्धानको माग गरेको छ।
बुधबार महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरेका छन्। उक्त विज्ञप्तिमा महासंघका बाजुरा शाखा सदस्य एवं रेडियो बुढीनन्दामा कार्यरत पत्रकार खड्काको परिचयपत्र, लाइसेन्स, कपडा, झोला लगायतका सामान भेटिएको र अस्थिपञ्जर फेला परेको घटनामा ध्यानाकर्षण रहेको उल्लेख गरिएको छ।
२०७५ भदौ १० गते झण्डै १४ हजार फिट उचाईमा रहेको बाजुरास्थित बुढीनन्दा तीर्थस्थलबाट फर्कने क्रममा पत्रकार खड्का सम्पर्क्विहीन भएका थिए। बेपत्ता भएको स्थानबाट अगाडि बाजुराको कोल्टे भन्ने स्थानमा हड्डीसहित सामग्री फेला पर्नुमा ठूलै रहस्य हुन सक्ने महासंघले आशंका गरेको छ।
यो घटनाको सत्यतथ्य छानबिन र भेटिएका हड्डीसहितका सामग्रीको वैज्ञानिक परीक्षण गर्न महासंघको सरकारसँग माग रहेको छ। ‘उक्त रहस्यमय घटनाका सम्बन्धमा गहिरो अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन महासंघ राज्यका सम्बन्धित निकायसँग आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।