काठमाडौं — उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्रमिक र रोजगारदाताले दायित्व पूरा गरे सरकारले अभिभावकत्व ग्रहण गर्ने बताएका छन्।
सामाजिक सुरक्षा योजना सुरु भएको एक वर्ष पूरा भएको अवसरमा आयोजिक सामाजिक सुरक्षा दिवसको कार्यक्रममा बोल्दै उनले श्रमिक र रोजगारदाताले यसमा आवद्ध भएर दायित्व पूरा गर्नुपर्ने बताएका हुन्।
उनले सामाजिक सुरक्षाकोष अक्षरशः कार्यान्वयनको विकल्प छैन, कानूनबाट भाग्ने छुट कसैलाई पनि नभएको बताएका छन्।
कार्यक्रममा ट्रेड युनियनका प्रतिनिधिले सामाजिक सुरक्षा कोषमा रोजगारदाता र श्रमिकको आवद्धता निराशाजनक रहेको बताएका थिए। उपप्रधानमन्त्री पोखरेलले भने सामाजिक सुरक्षा योजना नयाँ भएकाले केही व्यवहारिक समस्या देखिन सक्ने भन्दै त्यसलाई समाधान गर्दै जानुपर्ने बताए।
गत वर्ष सुरु भएको सामाजिक सुुरक्षा योजनामा हालसम्म ११ हजार रोजगारदाता र १ लाख १५ हजार श्रमिक आवद्ध भएका छन्।