तस्वीरः अनलाइन खबरबाट
काठमाडौं–तिहारपछि निरन्तर रुपमा चलचित्र असफल भईरहेका छन्। यो असफलताको श्रृङ्खलालाई मंसिरको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’ ले तोड्ने अपेक्षा गरिएको छ। हरि गुमागाँई निर्दे्शित यो चलचित्रमा सुमी मोक्तान, विजय लामा, सन्नी सिंह लगायतका कलाकारहरुको प्रमूख भूमिका रहेको छ। यो चलचित्रका लागि सुमीले २ बर्ष मार्सल आर्टको तालिम लिएकी थिइन्। सुमी संझिन्छिन्, ‘एउटा चलचित्र सजिलै बन्दैन। यसका लागि मैले निकै नै मिहिनेत गरेकी छु। ७ महिना मैले बोल्न नसक्ने भूमिकाका लागि हाउभाउ नै सिकेकी छु।’
चलचित्रले बदलाको कथा भन्छ। सुमी भन्छिन्,‘यो चलचित्र हरेक महिला, उनीहरुको बाबु–आमाले हेर्न आवश्यक छ। किन कि, कुनै पनि कुरामा अब महिला दबिएर बस्न हुँदैन। सानैबाट उनीहरुलाई प्रतिरक्षाको तालिम दिएको खण्डमा उनीहरु सबल बन्नेछन् भन्ने सन्देश चलचित्रले दिन्छ।’ नायक सन्नी सिंहका लागि पनि यो चलचित्र विशेष छ। यो चलचित्रमा सुमीले एक्सन गरेकी छिन् भने सन्नी उनको प्रेममा छन्। सुमी भन्छिन्,‘चलचित्रमा नायिका हाबी हुने वित्तिकै विभिन्न खालका प्रश्न उठाइन्छ। तर, नायकले नै यस्तो काम गरेको खण्डमा कोही पनि बोल्दैन। तर, अब चलचित्रको भाषा बदलिनुपर्छ। नायिका केन्द्रित चलचित्र पनि बन्न आवश्यक छ।’
छायाँङ्कारको रुपमा चर्चामा रहेका हरिले यो चलचित्र निर्देशन गरेका छन्। यसैले, चलचित्रमा छायांकन पाटो मात्र हाबी हुने हो कि भन्ने प्रश्न पनि उब्जन सक्छ। यसमा सुमी भन्छिन्,‘हरि हुमागाँई नभएको भए यो चलचित्र नै बन्ने थिएन। किनकी, यो चलचित्रको मुख्य हिरो नै उहाँ हो।’ नेपाली चलचित्रमा महिला केन्द्रित एक्सन चलचित्र निकै नै कम बन्ने गरेका छन्। ‘सरौतो’ व्यापारिक रुपमा हिट भएको खण्डमा यस्ता खालका चलचित्र निर्माणमा अरु मेकरहरुलाई पनि तातो लाग्ने थियो। सुमीको यो मेहनत र दाबीले चलचित्र अवश्य पनि सफल होला भन्ने धेरै जनाको अनुमान छ।