एजेन्सी–चर्चित बलिउड नायक वरुण धवन आफ्नो नयाँ फिल्म ‘कुली नं. १’ को सुटिङमा व्यस्त छन्। हालै पुणेमा उनको फिल्मको एक स्टंट दृश्य सुटिङ भएको थियो। सुटिङ्का क्रममा उनले निकै समस्या भोग्नु परेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।यो जटिल स्टंट दृश्यमा वरुणलाई ढुंगामा अड्किरहेको कारमा क्लोजअप शट दिनु थियो। यसको सुटिङ सकिएपछि वरुण कारमै बन्द भएका थिए। कारको ढोका पूरै जाम भएकाले झुन्डिरहेको गाडीमै उनी फसेका थिए।
वरुण कारमा फसेपछि सेटमा खुबै खलबली मच्चिएको पनि बताइएको छ। उनलाई बाहिर निकाल्ने कोशिश गरिए पनि कार ढुंगाको किनारतिर झुन्डिएकाले निकै मुश्किल भएको सञ्चार माध्यमले लेखेका छन्। पछि एक स्टंट निर्देशकहरुकै सहयोगमा वरुणलाई निकालिएको हो। उनलाई कुनै चोटपटक लागेन। यो दृश्यको सुटिङ हुनुअघि धेरैपटक स्टंट निर्देशकहरूको निगरानीमा अभ्यास भएको थियो। वरुणका बुबा तथा निर्देशक डेविड धवनले सबै सुरक्षा व्यवस्था गरेका पनि थिए। तर पनि वरुणले केही समय निकै तनाव झेल्नुपर्यो।
डेविड धवनको निर्देशनमा बन्दै गरेको ‘कुली नं. १’ सन् १९९५ को गोविन्दा र करिश्मा कपुरको फिल्मको रिमेक हो। फिल्ममा सारा अली खानको पनि मुख्य भूमिका रहनेछ। सारा र वरुण पहिलोपटक सँगै काम गर्दैछन्। फिल्म २०२० को मे १ तारिखमा रिलिज हुनेछ।