बुटवल– अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ६ नरपानी रातामाटामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ।
साँझ साढे ७ बजेसम्मको जानकारी अनुसार चालकसहित १७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए।
लु २ ख २१४८ नम्बरको बस दुर्घटना भएको हो। बस सडकबाट करिब ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
गाडी दुर्घटना भएको नरपानीदेखि घुम्तीसम्म दुर्घटना कम गराउनका लागि बाटो काट्ने काम भइरहेको थियो। दुर्घटनास्थल अफ्ठ्यारो भएकाले उद्धार गर्न असहज भएको प्रहरीले बताएको छ।
दिउँसो करिब ४ बजे गाडी दुर्घटना भएको हो। गाडी चालक अन्दाजी वर्ष ३० का बसन्त भन्ने ओमबहादुर थापाको मात्रै सनाखत भएको छ। अन्यको सनाखत हुन बाँकी रहेको छ।