एजेन्सी – इंग्लिस क्लब लिभरपुल र इटालियन क्लब नेपोलीले युइएफए च्याम्पियन्स लिगमा बराबरी खेल्दै अंक बाँडेका छन्। लिभरपुल घरेलु मैदानमा नेपोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो।
एनफिल्डमा घरेलु टोली लिभरपुलले एक गोलले पछि परेको स्थितिमा खेलमा फर्कंदै बराबरीको नतिजा निकालेको हो। लिभरपुलका डेजान लभरेन तथा नेपोलीका ड्रिस मर्टेन्सले गोल गरे।
खेलको २१औं मिनेटमा मर्टेन्सको गोलबाट लिभरपसुल पहिलो हाफमा १–० ले पछि परेको थियो। दोस्रो हाफमा लिभरपुलले बराबरी गोल फर्काउन सफल भयो। ६५औं मिनेटमा लभरेनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो।
बराबरीसँगै समूह ‘ई’ मा लिभरपुल ५ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा स्थानमा यथावत रहेको छ। नेपोली ९ अंकसहित दोस्रो स्थानमा छ। यही समूहको अर्काे खेलमा साल्जवर्गले जेन्कमाथि ४–१ को सानदार जित निकालेको छ। साल्जवर्गको जितमा पास्टोन डाका, ताकुमी मिनामिनो, हि चान ह्वाङ र अर्लिङ ब्राउट हल्यान्डले गोल गरे।
जेन्कका लागि एमबीवाना समताले एक गोल फर्काए। जितसँगै साल्जवर्गको ५ खेलबाट ७ अंक जोडेर नकआउट चरण पुग्ने सम्भावना जीवितै राखेको छ । जेन्क १ अंकसहित पुछारमा छ। अझैपनि समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुंगो लागेको छैन। लिभरपुललाई अन्तिम चरणको खेलमा कम्तिमा बराबरी आवश्यक रहेको छ।