जनकपुर– जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरुप हरेक वर्ष जनकपुरमा रामजानकी विवाह उत्सव मनाइन्छ।
सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव मंगलबारबाट नै शुरु भएको छ। पहिलो दिन जनकपुर नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषभंग, चौथो दिन मटकोर, पाँचौं दिन तिलकोत्सव, छैठौं दिन वैवाहिक कार्यक्रम तथा सातौं दिन रामकलेवा विधिसाथ महोत्सव सम्पन्न हुन्छ।
बुधबार फूलबारी लीला र मटकोर विधि पूरा गरिएको छ। राजा जनककी छोरी सीता फूल टिप्न गएको बेला रामसँग पहिलो भेट भएको सम्झनास्वरुप फूलबारी लीला कार्यक्रम गरिन्छ।
यसैगरी मटकोर विधिमा राम सीताको विवाह हुँदा मटिहानीकै लक्ष्मीसागर तलाउबाट माटो खनेर त्यही माटोले विवाहको बेदी (यज्ञस्थल) बनाउने परम्परा रही आएको छ।
यस वर्ष चाँदनीचोकमा विश्राम नगर्ने
रामजानकी विवाह महोत्सवका लागि अयोध्याका जन्ती बुधबार साँझ महोत्तरीमा प्रवेश गरेका छन्। जिल्लाको भारतीय सीमावर्ती बजार मधवापुरबाट जन्ती नेपालतर्फ प्रवेश गर्दै मटिहानी आइपुगेका हुन्।
मटिहानी प्रवेशद्वारमा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र लक्ष्मीनारायण मठ मटिहानीका महन्थसहितका व्यक्तिहरुले जन्तीको स्वागत गरेका छन्। जन्तीहरु बुधबार राति मटिहानीमै बास बसेका छन्।
महोत्सवमा सरिक हुन जन्ती भई आएका साधुसन्तहरुलाई मिष्ठान्न परिकार खुवाउने चलन छ। मटिहानीमा रात्रि विश्राम गरेपछि उनीहरु बिहीबार बिहान लावालस्करसहित महोत्तरी सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथको दर्शन गर्दै साँझ धनुषाको जनकपुरधाम पुग्ने छन्।