काठमाडाैं — काठमाडाैंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मङ्गलवार अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। उनलाई त्यहीँ उच्च निगरानीमा राखेर उपचार भइराखेको छ।
उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको सेन्टरका कार्यकारी निर्देशक प्रा. डा उत्तमकृष्ण श्रेष्ठले बिहीवार बिहान प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ।
"बितेका दुई दिनयता म अपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु। यति बेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ। स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु," प्रधानमन्त्री ओलीको निजी खातामा ट्वीट गरिएको छ।
प्रधानमन्त्री ओलीले पहिलो पटक बुधवार बिहान पत्नी राधिका शाक्य, परिवारका अन्य केही सदस्य र मुख्य सल्लाहकार विष्णु रिमालसँग छोटो भेट गरेका छन्। "प्रधानमन्त्री ओलीको पछिल्लो अवस्था राम्रो छ। सबै कुरा सामान्य हुँदै गएको अवस्था छ। कुनै प्रकारको सुई वा रक्तचाप बढाउने किसिमका औषधि दिनुपरेको छैन," प्रधानमन्त्रीको उपचारमा संलग्न प्रा. डा. अरुण सायमीले बताए।
यही अवस्था कायम रहे आजबाट प्रधानमन्त्रीलाई जाउलो खान दिइने उनले बताए। "अहिलेसम्म सूप मात्रै खुवाइएको छ," उनले थपे। प्रधानमन्त्रीले बुधवार बिहान आफ्नो निजी ट्विटर खाताबाट ट्विट गर्दै आफ्नो स्वास्थयस्थिति बारे चासो राख्ने शुभेच्छुकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

स्वास्थ्यस्थिति सामान्य बन्दै गए पनि ओलीलाई अझै केही दिन अस्पतालमै राखिने बताइएको छ। सायमीका अनुसार आईसीयूबाट उक्त सेन्टरकै अर्को कोठामा सार्ने वा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लाने भन्ने विषयमा छलफल भइरहेको छ।
केही दिन आराम गर्नुपर्ने बताइएका प्रधानमन्त्रीलाई हिँडडुल गर्न दिइएको छैन। तर उनलाई कुर्सीमा अडेस लाएर बस्ने दिइएको चिकित्सकहरूले बताएका छन्।

अपेन्डिसाइटिस भएपछि उनलाई पेरिटनाइटिस अर्थात् पेटको सङ्क्रमण पनि भएको थियो।
पेटको शल्यक्रिया गरेर उनको समस्याग्रस्त अपेन्डिक्स फालिएको थियो भने सङ्क्रमण फैलिएकाले पेटबाट पीप सफा गरिएको थियो। अपेन्डिसाइटिसको शल्यक्रियालाई त्यति धेरै जोखिमपूर्ण नमानिए पनि उनको प्रत्यारोपण गरिएको मिर्गौलमा समस्या देखिएकाले हालको अवस्था चुनौतीपूर्ण रहेको सायमी बताउँछन्।
"यो निकै जोखिमपूर्ण कार्य थियो। शल्यक्रिया नगरेको भए ज्यानकै जोखिम हुन सक्थ्यो। तत्काल उपचार र प्रधानमन्त्रीको आत्मबल दुबैका कारण यति छोटो समयमा अवस्था सामान्य हुँदै गएको हो," सायमीले भने।अपेन्डिसाइटिस हुनुअघि उनको पटकटपक हेमोडायालिसिस गरिएको थियो। उनको पुन: मिर्गौला प्रत्यारोपण गर्नेबारे विचार भइराखेको बताइन्छ।
झन्डै १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। स्वास्थ्यसम्बन्धी उनका विविध समस्यालाई दृष्टिगत गरी विज्ञ चिकित्सकहरूलाई उनको उपचारमा संलग्न गराइएको छ। स्वास्थ्यमा समस्या भए पनि ओली सार्वजनिक कार्यक्रममा सहभागी हुन छोडेका थिएनन्। बीबीसी