एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा लण्डन क्लब चेल्सी र भ्यालेन्सियाले बराबरी खेलेका छन्। बुधबार राति भएको खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।
प्रतिस्पर्धात्मक खेलमा पहिलो गोल हुन ४० मिनेट लागेको थियो। ४० औं मिनेटमा भ्यालेन्सियाका कार्लोस सोलरले गोल गर्दै खेलमा गोलको खडेरी तोडेका थिए। त्यससँगै भ्यालेन्सियाले खेलमा शुरुवाती अग्रता बनाएको थियो।
तर त्यसको १ मिनेटपछि नै चेल्सी खेलमा फर्किएको थियो। उसका लागि माटेव कोभासिसले गोल गरेका थिए। त्यस्तै चेल्सीले दोस्रो हाफको ५० औं मिनेटमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीलाई २–१ को अग्रता दिलाए।
खेलको ८२ औं मिनेटमा ड्यानियल वासले गोल गर्दै भ्यालेन्सिायालाई बराबरीमा ल्याए। भ्यालेन्सियासँग बराबरी खेलेसँगै चेल्सीको नकआउट चरण यात्रा कठिन बनेको छ। चेल्सी ८ अंक सहित तेस्रो स्थानमा छ। भ्यालेन्सिया समान अंक भएपनि दोस्रो स्थानमा छ। डच क्लब अजाक्स १० अंक सहित शीर्ष स्थानमा छ।