तस्विरः सेताेपाटीबाट
काठमाडौं — त्रिभुवन विश्वविद्यालयले प्रधानमन्त्रीको उपस्थितिविनै सिनेट बैठक बस्ने भएको छ।
त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्रीको नै सहमतिमा सिनेट बैठक बोलाइएको जानकारी दिए। कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबारदेखि उपचारत छन्।
विश्वविद्यालयको ऐनअनुसार कुलपति नभए सहकुलपति र उनी पनि उपस्थित हुन नसक्ने भए सिनेट बैठक राख्न सक्ने अधिकार उपकुलपतिलाई दिएको बाँस्कोटाले जानकारी दिएका छन्।
गत असारमा हुनु पर्ने बैठक अहिलेसम्म पनि हुन नसकेका कारण त्रिविको वार्षिक बजेट पनि पारित हुन सकेको थिएन। बजेट पास नहुँदा शैक्षिक, प्रशासनिक र आर्थिक गतिविधिामा प्रभाब परेको थियो। त्रिविले करिब १६ हजार प्राध्यापक र कर्मचारीलाई पेश्कीका भरमा तलबलगायत सेवा सुविधा दिइरहेको थियो।
यसअघि नै कुलपति तिर्थ खनियाको भने भदौँ ६ गते चार वर्षे कार्यकाल सकिएपश्चात गत महिना मात्रै प्रधानमन्त्री ओलीले उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गरेका थिए।
‘सिनेट बैठक बस्न किन ढिलाइ भयो मलाई थाहा भएन,’ उपकुलपति बाँस्कोटाले भने, ‘म उपकुलपति भएको एक महिना पनि भएको छैन। १८ गते एक महिना हुँदैछ, १३ गते शुक्रबार नै सिनेट बैठक राखेको छु।’
उनले सिनेट बैठक नबस्दा तलब खुवाउनभन्दा पनि विकास बजेट खर्च गर्न गाह्रो भइरहेको जानकारी दिए। ‘तलब खुवाउनै त होइन विकास बजेट रिलिज हुँदैन। तलबको समस्या भने थिएन,’ उनले भने।