काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद्(साग) का कारण नेपाली खेल जगत् जगमगाएको छ। यसैबीच नेपाली ‘ए’ टिम र माल्दिभ्सले मैत्रीपूर्ण टी–२० क्रिकेटमा प्रतिस्पर्धा गरेका छन्। सागका लागि नेपाल आएको माल्दिभ्सले नेपाल ’ए’ सँग मैत्रीपूर्ण खेल खेलेको हो।
उक्त खेलमा नेपाल ‘ए’ टिमले माल्दिभ्सलाई पराजित गरेको छ। मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ४९ रनले पराजित गरेको हो। नेपालले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभरमा ६ विकेट १ सय १ रन मात्र बनायो। माल्दिभ्सका लागि युफुफ फरातले ४२ रनको योगदान दिए। यस्तै हसन अब्रिम १८ रन बनाए। नेपालको बलिङमा आकाश चन्द र नन्दन यादवले दुई दुई विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५० रन बनाएको थियो। नेपालको लागि भिम सार्कीले ३३ रन बनाए तथा अमित श्रेष्ठले २९, रित गौतम २५ रनको योगदान दिए।