तस्वीरः अनलाइन खबरबाट
काठमाडौं–नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ शुरु भइसकेको छ। फिजिकल अडिसनबाट छनोट भएका २४ प्रतिस्प्रर्धीले आफूलाई टप १० मा स्थन बनाउनको लागि अहिले प्रस्तुति दिइरहेका छन्।सोमबार ग्राण्ड प्रिमियर भन्दै शुरु भएको ‘कमेडी च्याम्पियन’ को दुई भाग प्रशारण भैसकेको छ।
पहिलो एपिसोडले युटुबमा ६ लाख बढि भ्युज पाएको छ भने दोस्रो एपिसोडले ५ लाख भ्युज पार गरेको छ। हिजोआज टेलिभिजनका लागि बनाइएका कार्यक्रम युटुबको भ्यूजको आधारमा हिट र फ्लपको मापनमा पर्ने गरेका छन्। कान्तिपुर टेलिभिजनबाट यो शो प्रशारण हुँदै आएको छ। दुई भागमा आएका दर्शक प्रतिक्रिया भने मिश्रित छन्। कसैले यो शोलाई उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन् भने कसैले कमजोरी औल्याएका छन्। यस्तो प्रकारको शो नेपालमा भित्रिनु राम्रो कुरा भएको र यसले नयाँ प्रतिभाहरुलाई माथि ल्याउन सहयोग गर्ने प्रतिक्रिया केही दर्शकले दिएका छन्।
कतिपयले भने शोका निर्णायकहरुमाथि प्रश्न उठाइरहेका छन्। कमेडीको नाममा निर्णायकहरुलाई प्रतिस्प्रर्धीहरुले भद्दा मजाक बनाइरहेको भन्दै दर्शकहरु असन्तुष्ट पनि देखिएका छन्। कतिपयले भने शोको स्तरमा प्रश्न उठाएका छन्। शोको सेट राम्रो बनेको छ। तर, त्यसमा लाइटिङको प्रयोग राम्रोसँग र व्यवस्थित गर्न नसक्दा सेट कमजोर देखिएको प्रतिक्रिया पनि दर्शकले दिएका छन्।
पछिल्लो समयमा नेपाली टेलिभिजनमा रियालिटी शोको त बाढी नै आएको छ। तर, सबै रियालिटी शोले बजारमा दर्शक भने पाएका छैनन्। २ भागमै यो शोको मुल्यांकन गर्न संभव त छैन। तर, यसको टिमले शोको टीआरपी बढाउनका लागि र स्तरीय बिषय पस्कनका लागि धेरै नै मेहनेत गर्नुपर्ने देखिन्छ। जुन मेहनत यस शोेले गरिरहेकै छ।