कोलम्बो – श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति गोताबाया राजपाक्षेले बुधवार ३५ जनालाई राज्यमन्त्री नियुक्त गरेका छन्। त्यसैगरी उनले तीनजनालाई उपमन्त्री नियुक्त गरेका छन्।
उनीहरूलाई अन्तरिम मन्त्रिपरिषद् समावेश गरिएको हो। उनीहरूलाई राजधानी कोलम्बोस्थित राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा शपथ गराइएको थियो। राज्यमन्त्रीमध्ये चमाल राजपाक्षेलाई रक्षा मन्त्रालय, जोन सेनेभिरत्नेलाई अर्थ तथा नीति विकास मन्त्रालय र सुशील प्रेमाजयनाथलाई अन्तर्राष्ट्रिय सम्बन्ध मन्त्रालयको जिम्मेवारी दिइएको छ।
केहेलिया रामबुक्वेल्ला लगानी प्रवद्र्धन राज्यमन्त्री बनेका छन् भने अरुणिका फर्नान्डोलाई पर्यटन प्रवद्र्धन राज्यमन्त्री बनाइएको छ। राष्ट्रपति राजपाक्षेले प्रधानमन्त्रीमा केही दिनअघि सहोदर दाइ एवं पूर्वराष्ट्रपति महिन्दा राजपाक्षेलाई नियुक्त गरेका छन्। प्रधानमन्त्री नियुक्त महिन्दा राजपाक्षे सन् २००५ देखि २०१५ सम्म राष्ट्रपति भएका थिए। सन् २०२० को मार्च १ पछि नयाँ संसद् बन्ने भएकाले अहिलेको मन्त्रिपरिषद्लाई अन्तरिम मन्त्रिपरिषद् भनिएको छ।
निर्वाचनका बेला उम्मेदवारहरूले राष्ट्रिय सुरक्षा, आर्थिक सुधार, भ्रष्टाचार न्यूनीकरण, सार्वजनिक सेवाको सुधार लगायतका विषयलाई मुख्य एजेन्डा बनाएका थिए। अन्तर्राष्ट्रिय विषयमा राजपाक्षले श्रीलंकालाई सबैभन्दा बढी आर्थिक सहयोग गर्ने चीनसँग सम्बन्ध सुधार्नुपर्नेमा जोड दिएका छन्।