एजेन्सी– अब लामो समयदेखि निस्क्रिय रहेका ट्वीटर अकाउन्टहरु स्वतः बन्द हुने भएका छन्। ट्वीटरले पछिल्लो ६ महिनादेखि साइन इन नभएका अकाउन्टहरु बन्द गर्ने तयारी गरेको हो।
यदि पछिल्लो ६ महिनादेखि निस्क्रिय रहेका अकाउन्टहरु डिसेम्बर ११ सम्म पनि साइन इन नगरेमा उक्त अकाउन्टहरु स्वतः बन्द हुने ट्वीटरले जनाएको छ। त्यसरी हटाइएका ट्वीटर अकाउन्टको युजर नेम अरुले प्रयोग गर्न सक्नेछन्। यसको पूर्वतयारी स्वरुप ट्वीटरले यस्ता निस्क्रिय ट्वीटर प्रयोगकर्तालाई चेतावनीयुक्त इमेल पठाउन सुरु गरेको छ।
‘द भर्ज’मा प्रकाशित रिपोर्टमा ट्वीटरका प्रवक्ताले भनेका छन्, ‘प्रयोगकर्ताहरुलाई उत्कृष्ट सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता स्वरुप हामीले निस्क्रिय अकाउन्टहरुलाई बन्द गर्ने कार्य गरिरहेका छौँ, ताकि मानिसहरुले बढ्ता सटिक, विश्वसनीय जानकारी प्राप्त गर्न सकुन् र ट्वीटरमाथि पूर्ण भरोसा गर्न सकुन्।
उनका अनुसार यो प्रयासले मानिसहरुलाई ट्वीटरमा खाता खोलिसकेपछि सञ्जालमा सक्रिय हुन तथा ट्वीटरको नियमित प्रयोग गर्नका लागि प्रोत्साहित गर्नेछ।