काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले शान्ति बिना विकास सम्भव नहुने बताएका छन्। बिहीबार गृहमा आयोजित प्रथम चौमासिक कार्यप्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै बादलले यस्तो बताएका छन्।
विकासका लागि सुरक्षा र प्रविधिमा लगानी थप्नुपर्नेमा उनले जोड दिएका छन्। गृहमन्त्री थापाले मन्त्रालय र मातहतका निकायलाई उनीहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा शतप्रतिशत नजिक पुग्नेगरी काम गर्न निर्देशनसमेत दिए। ‘तोकिएको लक्ष्य एक सय प्रतिशत पुर्याउन कोशिस गर्नुहोस्, त्यसो गर्दा लक्ष्य प्राप्त हुन्छ’, गृहमन्त्री थापाले भने, ‘कारणवश पूरा हुन नसके पनि लक्ष्यको नजिक अवश्य पुगिन्छ।’
समग्रमा चालु आर्थिक वर्षमा मन्त्रालयले लिएको पहिलो चौमासिकको लक्ष्य पुरा भएको भन्दै गृहमन्त्री थापाले आगामी दिनमा थप कार्यपद्धतिलाई थप सुधार गर्दै लान निर्देशन दिए।
कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले प्रथम चौमासिक प्रगति सन्तोषजनक रहेको बताउँदै अहिलेका कमजोरीलाई सुधार गर्दै लाने बताए। बैठकमा गृह मन्त्रालयअन्तर्गतको नीति, योजना तथा कार्यक्रम महाशाखा, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, कारागार विभागले आफ्नो चौमासिक कार्यप्रगति विवरण पेश गरेका छन्।