तस्वीरः अनलाइन खबरबाट
काठमाडौं– पछिल्लो समय केही नेपाली चलचित्रले सफल व्यापार गरे भनेतापनि अधिकतम् चलचित्रको व्यापार असफल हुँदै गएको छ। गत शुक्रबारबाट रिलिज भएको थियो, नायक आर्यन सिग्देल र नायिका मिरुना मगर अभिनित चचित्र ‘च च हुई’। यो चलचित्रले बक्स अफिसमा खराब व्यापार गर्यो। यतिसम्म कि, यो चलचित्र भोली शुक्रबारबाट अधिकांश मल्टिप्लेक्सबाट हटेको छ। अर्थात, आर्यन र मिरुनाको कमेडी जनराको चलचित्र एक हप्ता पनि हलमा टिकेन।
बक्स अफिसमा राम्रो कमाई गर्ने अपेक्षा गरिएको चलचित्र एक साता पनि हलमा नटिक्दा निर्माताको लगानीको कती प्रतिशत अंश फिर्ता हुन्छ होला, सहजै अनुमान लगाउन सकिन्छ। कात्तिक २९ गते रिलिज भएको चलचित्र ‘मिस्टर नेपाली’ पनि हलमा एक साता पनि टिकेन। दोश्रो शुक्रबारदेखि यो चलचित्र अधिकांश हलबाट हट्यो। मल्टिप्लेक्सबाट हटेका यस्ता चलचित्रहरु धेरै पर्दा भएका सिंगल हलमा भने टिकिरहेका हुन्छन्। हलमा चलचित्र नै नभएपछि जर्बजस्ती संचालकले हलमा टिकाइराख्नु नयाँ कुरा नै भएन। कात्तिकको २२ गतेबाट रिलिज भएको चलचित्र ‘घामड शेरे’ लाई पनि हलमा टिकिराख्न मुश्किल भयो। पहिलो साता नै राम्रो व्यापार गर्न नसकेको यो चलचित्र अधिकांश हलबाट उत्रिसकेको छ। निश्चल बस्नेत र स्वस्तिमा खड्काको जादु नचल्दा चलचित्र क्षेत्र नै अचम्मित भएको छ।
कात्तिकको १५ गते रिलिज भएको चलचित्र ‘बादशाह जुट’ पनि हलमा एक साता पनि टिकेन। शुक्रबार रिलिजको दिनदेखि नै खराब व्यापार गरेको चलचित्रले दोश्रो साता छुनै सकेन। नेपाली चलचित्र बम्पर चलेको खण्डमा निर्माताले केही रकम कमाउँछन्। तर, चलचित्र यसरी उत्रिदा निर्माताको हालत खराब हुन्छ। आखिर, दर्शकको फ्लो हलमा किन हुन छाडेको होला? के दर्शकले ब्रान्ड र सिरिज विनाका चलचित्रलाई पत्याउनै छाडेका हुन् त?