एजेन्सी– भारतमा अझै अब पाँच वर्ष फाइभजी नचल्ने भएको छ। भारतका टेलिकम कम्पनीले पछिल्लो वर्षहरुमा बेहोरेको ठुलो घाटा र फ्रिक्वेन्सी ब्याण्ड उपलब्ध नहुँदा अझै पाँच वर्ष फाइभजी नचल्ने भएको हो।
सेलुलर अपरेटर्स एसोसिएशन अफ इंडीया (सीओएआई) का महानिर्देशक राजन एस म्याथूजले फाइभजी अझै पाँच वर्ष पर धकेलिएको बताए। यसको पछाडि त्यहाँका दूरसञ्चार कम्पनीको वित्तीय अवस्था र फ्रिक्वेन्सी ब्याण्डको उपलब्धता भएको उल्लेख गरेका छन्।
सीओएआईमा भारतका निजी टेलिकम सेवा प्रदयाक कम्पनी भारती एयरटेल, रिलायन्स जीयो र भोडाफोन आईडीया जस्ता ठुला कम्पनीहरु रहेका छन्। साथै हार्डवेयर निमार्ता कम्पनी, हुवावे, एरिक्सन, सिस्को, सैना लगायतका कम्पनी पनि त्यसको सदस्य रहेका छन्।
उनका अनुसार एक मेगाहर्ज ब्याण्डको मूल्य चार अर्ब ९२ करोड रहेको र फ्रिक्वेन्सी ब्याण्डको मूल्य नै यो उद्योगको लागि सबैभन्दा जटिल समस्या भएको छ। अहिले भारतको समग्र दूरसञ्चार क्षेत्र ७५ खर्बको ऋणमा छ भने, भारतका टेलिकम सेवा प्रदायक कम्पनीहरु मध्य रिलायन्स जीयोले मात्रै आम्दनी गरिहेको अवस्था छ। अन्य सबै सेवाप्रदायक कम्पनीहरु घाटामा छन्।
यसका साथै फाइभजी विस्तारको लागि फ्रिक्वेन्सी ब्याण्ड पनि आवश्यक मात्रामा नछुट्याइएको उल्लेख गरेका छन्। उनका अनुसार फाइभजीको लागि ३३० मेगाहर्ज देखी ३६०० मेगाहर्जको फ्रिक्वेन्सी ब्याण्ड आवश्यक पर्छ। जुन ब्याण्ड महंगो ब्याण्ड हो।
सय मेगाहर्ज ब्याण्डको टेलिकम सेवा प्रदायकले पाँच खर्ब भारतीय रुपैयाँ बुझाउनु पर्नेहुन्छ। यस्तै अवस्थाहरुले गर्दा फाइभजीको विस्तार गर्न अझै पाँच वर्ष सम्भव नरहेको म्याथूजले बताएका छन्।