खेमराज सापकाेटा/इटहरी, १६ माघ –हास्यकलाकार मनोज गजुरेलले पहिलो पटक चलचित्रमा अभिनेताको भूमिका निर्वाह गरेका छन्। चलचित्र माघ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउने भएकाले चलचित्रको प्रचार–प्रसारमा उनी प्रदेश नं. १ आईपुगेका हुन्।
रामशरण पाठक निर्देशित नेपाली चलचित्र ‘सयकडा दश’को प्रदर्शन यही माघ १८ गतेबाट हुने भएको छ। भ्रष्टाचारविरुद्ध प्रेम र सकारात्मक सन्देशसहित यस चलचित्रलाई मनोरञ्जनात्मक ढङ्गले प्रस्तुत गरिएको छ।
सुनसरीको इटहरीमा मङ्गलबार पत्रकार सम्मेलन गरी कलाकार गजुरेलले चलचित्रबारे बताए। चलचित्रबाट भ्रष्टाचार विरुद्धको प्रेम र सकारात्मक सन्देश दिन आफूले अभिनय गरेको गजुरेलले जानकारी गराए। समाजलाई सदाचारी बनाउन ‘सयकडा दश’को महत्त्वपूर्ण भूमिका रहने उनको विश्वास छ। चलचित्रबाट दर्शकलाई मनोरञ्जन प्राप्त हुनुका साथै उनीहरू भ्रष्टचार विरुद्धको अभियानमा पनि सहभागी बन्नसक्ने उनले बताए।
चलचित्र दर्शन नेपाल क्रिएसनको ब्यानरमा रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जीव न्यौपानेले निर्माण गरेका हुन्। चलचित्रमा हास्य अभिनेता गजुरेलका साथै राजाराम पौडेल, अमृत ढुङ्गाना, करुणा श्रेष्ठ, अमित पोख्रेल, सोनिया राई, उत्सव न्यौपाने लगायतका कलाकारको अभिनय रहेको छ।चलचित्रका निर्देशक पाठकले भ्रष्टाचारले प्रेम र समाजको आर्थिक क्षेत्रमा पर्ने असरका साथै परिवार र समाजमा आइपर्ने समस्यालाई चलचित्रले उठान गरेको जानकारी दिए।