काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत पुरुष भलिबलमा नेपालले भारतको सामना गर्दै छ। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्डहलमा ५ बजेपछि शुरु हुनेछ।
उपाधि दाबेदार भारतसँगको खेल नेपालको लागि चुनौतिपूर्ण मानिएको छ। समुह चरणको पहिलो खेलमा बंगलादेशसँग ३–२ को सेटमा पराजित नेपाललाई अघिल्लो चरणमा प्रवेश गर्न आजको खेल जित्नैपर्ने हुन्छ। त्यसकारण पनि नेपाल गर या मरको स्थितिमा रहेको छ।
पुरुष भलिबलमा स्वर्णको आश गरिएको भएपनि नेपालले प्रदर्शन भने त्यसलाई निराशामा धकेलेको छ। कम्तीमा पनि पदक जित्ने सम्भावनालाई जीवितै राख्न नेपालले भारतमाथि जित निकाल्नुपर्नेछ। पराजित भएको अवस्थामा नेपाल समूह चरणबाटै बाहिरिनेछ।