जाजरकोट– कर्णाली प्रदेशमा पर्यटनका लागि राम्रो सम्भावना भए पनि सबै ठाउँमा सडक पहुँच नहुँदा पर्यटन प्रवद्र्धनमा चुनौती भएको छ। यस क्षेत्रमा शे–फोक्सुण्डो ताल, नेपाली भाषाको उद्गमस्थल सिंजा, रारा, सुलिगाड झर्ना, जाजरकोटको दरबार, शिवालय क्षेत्रलगायतका क्षेत्रमा सहजरूपमा सडक पहुँच नहुँदा पर्यटकलाई समस्या हुँदै आएको हो।
शुरु हुँदै गरेको नेपाल भ्रमण वर्ष २०२० कर्णालीका लागि सडक चुनौती बनेको छ। यहाँका पहाडी र हिमाली क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्र सडकको पहुँच बाहिर हुँदा भ्रमण वर्ष कर्णालीका लागि चुनौती बनेको हो। साँघुरा तथा निकै जोखिमपूर्ण मात्र नभई धुलाम्मे सडकका कारण पर्यटकले दैनिक सास्ती भोग्दै आएका छन्।
जाजरकोट हुँदै डोल्पाको शे–फोक्सुण्डो जाने पर्यटकले दुनैबाट तालसम्म पुग्न पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। एक सय १८ किलोमिटर सडकमा आठ ठाउँमा सवारीसाधन बदल्नुपर्ने बाध्यता छ। शे–फोकसुण्डो ताल ३६११.५ मिटर उचाइमा रहेको उपल्लो डोल्पामा पर्दछ। नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल समुद्री सतहभन्दा करीब तीन हजार ९०० मिटर उचाइमा छ।
तालको लम्बाइ ४.८ किमी, चौडाइ १.६ किमी छ भने गहिराइ ६५० मिटर छ। काञ्जिरोवा हिमालको काखमा अवस्थित सो ताल ‘वाइ’ आकारमा रहेको छ। फोक्सुण्डो तालबाट सुलिगाड झरना बग्छ। उपल्लो डोल्पामा रहेका विभिन्न गुम्बा पनि पर्यटकको रोजाइमा पर्दै आएका छन्।
सडक नभए पनि पैदल हिँडेर त्यहाँ पर्यटक जाने गरेका स्थानीय सञ्चारकर्मी विष्णुलाल बुढाले जानकारी दिएका छन्। विश्वको अग्लो मानव बस्ती भो र लोपोन्मुख काइके भाषाले यहाँको शोभा झन् बढाएको छ। राराताल समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा छ भने १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिनुका साथै तालको अधिकतम लम्बाइ पाँच किलोमिटर र अधिकतम चौडाइ ३.२ किलोमिटर छ।
त्यस्तै गहिराइ १६७ मिटर छ। रारा राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिनुका साथै कस्तुरी, रतुवाजस्ता जन्तुका साथै राष्ट्रिय चरा डाँफे र अन्य चराचुरुङ्गीले पाइने भएकाले राराको महत्व झन् बढाएको छ। जुम्लाको सिञ्जा उपत्यकामा इसाको १३औँ शताब्दीको पुरातन देवनागरी लिपि फेला परेको थियो।
सिञ्जा उपत्यका खस मल्लको राजधानी थियो। बाहाैँ शताब्दीदेखि इसाको १४औँ शताब्दीसम्ममा नेपाली भाषाको उत्पत्ति सिञ्जामा भएको विभिन्न इतिहासमा लेखिएको पाइन्छ। यही बाटो भएर रारा जाने गरिन्छ। कच्ची बाटो रहेका कारण हिउँदयाममा कम सास्ती भए पनि वर्षायाममा भने समस्या रहेको छ। त्यस्तै जाजरकोटको २०० वर्ष पुरानो दरबार क्षेत्र पनि पर्यटनका लागि महत्वपूर्ण क्षेत्रका रूपमा रहेको छ। विसं १८२५ मा निर्माण गरिएको सो दरबार पर्यटकको रोजाइमा पर्दै आएको छ।
त्यस्तै भेरी नगरपालिका–१ मा रहेको शिवालय क्षेत्रमा रहेका २०० वर्षभन्दा पुराना देवल पर्यटकको मुख्य रोजाइ बन्दै गएका छन्। बारेकोट गाउँपालिकाको साइकुवारी, पजारुमा रहेको चैतेलगायतका पौराणिक कला संस्कृति अनि इतिहाससँग जोडिएका महत्वपूर्ण वस्तुले पर्यटकको मन लोभ्याइरहेका छन्। सडकको पहुँच नभएका कारण पैदल हिँडेर जानुपर्ने बाध्यताले गर्दा रमाइलोभन्दा पीडा बढी हुने गरेको पर्यटक बताउँछन्।
पर्यटक पुग्दा बस्ने बास र खाने कुराको सही व्यवस्थापन नहुँदा अर्को समस्या थपिएको छ। भ्रमण वर्ष २०२० को सचिवालयबाट कर्णालीमा रु २५ लाख मात्र आएको छ। उक्त कार्यक्रम उद्घाटनका लागि प्रदेश सरकारले जनवरी १ तारिखमा भ्रमण वर्ष शुभारम्भका लागि रु १० लाख र प्रचार–प्रसारका लागि रु १० लाख छुट्याएको कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ। बजेटमा कम प्राथमिकता भएकै कारण सबै काम यही बजेटबाट गर्न चुनौती हुने बताइन्छ। (रासस)