सुनसरी– आफ्नो नाम पछिल्लो पटक फेरेर ‘सिद्धबाबा’को रुपमा कहलिएका विवादास्पद कृष्णबहादुर गिरी विरुद्ध सुनसरीको जिल्ला प्रहरी कार्यालयमा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको छ।
सुनसरी बाहिरकी एक अनुयायीले सिद्धबाबाले आफूलाई बराहक्षेत्रस्थित चतरा आश्रममा बलात्कार गरेको उजुरी बिहीबार दर्ता गराएकी हुन्। जिल्ला प्रहरी कार्यालयका एसपी यज्ञविनोद पोखरेलले भने, ‘ती महिलाको उजुरी हामीले दर्ता गरेका छौं।
यो सरकारवादी मुद्दा भएकाले अब अदालतले जे आदेश दिन्छ सोही अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अगाडि बढाउने छौं।’ उजुरी दर्ता गरेपनि प्रहरीले सिद्धबाबालाई हालसम्म पक्राउ गरेको छैन। ती महिलाले घटना कार्तिक ४ गते भएको उजुरीमा उल्लेख गरेकी छिन्।
घटनाको पाँच सातापछि मात्रै उजुरी परेकोले अनुसन्धान गर्न प्रहरीलाई केही असहज अनुमान लगाउन सकिन्छ। जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थाहा पाएसँगै ‘सिद्धबाबा’ले शुक्रबार बिहानै बिरामी परेको भन्दै विराटनगरस्थित एक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएको स्रोतले दाबी गरेको छ।
बलात्कार घटनाको उजुरी स्थानीय प्रहरी कार्यालयले लिन नमानेपछि ती महिला केन्द्रीय अनुसन्धान ब्यूरो पुगेकी थिइन्। ब्यूरोले जिल्लालाई नै फिर्ता पठाएपछि सुनसरीमा उजुरी दर्ता भएको हो।