एजेन्सी– भारतले फेसबुकको अधिनमा रहेको मेसेजिंग प्लेटफर्म ह्वाट्सएपको सेक्यूरिटी सिस्टमको अडिट गराउने योजना राखेको छ। ह्वाट्सएपमा स्पाईवेयरको जोखिम देखिएको भन्दै सेक्यूरिटी अडिट गराउन चाहेको भारतका टेक्नोलोजी मिनिस्टरले बताएको हो।
‘इन्डियन कम्प्यूटर इमर्जेन्सि टिम (सर्ट–इन) ले ह्वाट्सएपद्धारा नोभेम्बर ९ मा बुझाएको सूचना हेरेको छ जसमा ह्वाट्सएपको सेक्यूरिटी सिस्टम र प्रोसेसहरुको अडिट र निरिक्षण गर्नुपर्ने आवश्यकता रहेको छ,’ भारतीय मन्त्री रवि शंकर प्रसादले संसदमा भने।
गत महिना मात्रै ह्वाट्सएपले इजरायली सर्भिलेन्स फर्म एनएसओ ग्रुपलाई मुद्धा दायर गरेको थियो। जसमा सो फर्मले ह्वाट्सएप १,४०० यूजर्सका फोनहरुसम्म गोप्यरुपमा पहुँच प्राप्त गर्न सहयोग गरेको आरोप लगाईएकोछ। विभिन्न चार महादेशका कुटनितीज्ञ, राजनीतिक व्यक्तिहरु, पत्रकारहरुका साथै सैनिकहरु र सरकारी अधिकारीहरुको फोन ह्याक गरेको थियो।
सो ह्याक प्रकरणमा एनएसआको पेगासस स्पाईवेयर प्रयोग भएको थियो जसमध्ये १२२ बेसहरु भारतमा रहेका थिए। यसअघि नै ह्वाट्सएपले त्यस्तो जोखिमको समाधान गरिएको जानकारी दिएको थियो।