काठमाडौं– उपप्रधानमन्त्री एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्।
शुक्रबार समाजवादी पार्टीका अध्यक्षसमेत रहेका यादवले भने ‘मेरो मूख्य मिसन नै संविधान संशोधन गरेर सबैतिर दीपावली गर्ने वातावरण निर्माण गर्न हो।’ आफ्नो पार्टीले संविधान स्वीकार नगरेको स्मरण गराउँदै उनले संविधान जारी गर्दा देशको आधाभन्दा बढी ठाउँमा त्यसको विरोधमा ‘ब्ल्याक आउट’ गरिएको स्मरण गराए।
यसअघी स्वास्थ्य मन्त्री रहेका यादवको अनुसार त्यो बेला आधा ठाउँमा दीपावली र आधा ठाउँमा ब्ल्याक आउट थियो र अब यसलाई संशोधन गरेर सबै ठाउँमा दीपावली गर्ने अवस्था सिर्जना गर्नु अहिलेको आवश्यकता हो।
कतिपय कुराहरु संविधानमा अधिकारका दृष्टिले राम्रो भए पनि धेरै कुरा भने समेट्न नसकिएको उनको भनाई छ। उनले देशमा संघीयता आएको तर अपूर्ण रहेको र संविधान आए पनि विद्रोहको बाटो नछाडिएको बताए। प्रदेशलाई पेन्डुलम बनाएर संघीयता बलियो नहुने उनले स्पष्ट पारेका छन्।
आफूहरु संविधानप्रति असन्तुष्ट रहनु र सरकारमा सामेल हुनु फरक कुरा रहेको उनको भनाइ थियो। सरकारमा सामेल हुनु अघि प्रधानमन्त्रीसहित सत्तारुढ दल नेकपाका शीर्ष नेतृत्वसँग दुई बुँदे सहमति भएको स्मरण गराउँदै उनले उक्त सहमति संविधान संशोधन गर्नकै लागि केन्द्रित रहेको बताए।
‘मुलुकको आवश्यकता अनुसार कानुन निर्माण गर्ने प्रयास गर्नेछु,’ उनले भने।