तस्वीरः अनलाइन खबरबाट
काठमाडौं– केही नेपाली चलचित्र लगातार असफल भएतापनि कुनै चलचित्रले नपत्याउँदो तरिकाले व्यापार गरिरहेका छन्। असोजको २४ गतेबाट रिलिजमा आएको चलचित्र ‘छ माया छपक्कै’ ले काठमाण्डौका आधा दर्जन हलमा ५१ दिन मनाएको छ। यो चलचित्र बीएसआर, गोपी, गुण, गंगा, अष्टनारायण र सीडीसी हलमा ५१ दिनसम्म प्रदर्शन भैरहेको छ। यो चलचित्रकै लागि एकदमै गौरवको कुरा हो।
चलचित्रको निर्माणपक्षले आधा दर्जन हलमा ५१ दिनसम्म चलचित्र रिलिज भएको भन्दै दर्शकलाई धन्यवाद समेत दिएको छ। रोहित अधिकारी र आमा सरस्वती मुभिजको निर्माणमा तयार भएको यो चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन्। चलचित्रलाई यो बर्षकै सर्वा्धिक ग्रस कमाउन सफल चलचित्रको रुपमा हेरिएको छ। यो चलचित्रको व्यापारिक आँकडा भने निर्माणटिमले सार्वजनिक गरेको छैन। दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रले राजनीतिक बिषयलाई मुख्य मुद्दा बनाएको थियो। यसपटक, दर्शकले यो टिमको चलचित्रलाई उत्कृष्ट प्रतिक्रिया दिएका थिए।
यसैविच, दिपकराज गिरी र उनको टिमले ५१ दिन मनाउने चलचित्रको सूचीमा दोहोरो ह्याट्रिक नै गरेको छ। यसअघि यो टिमले बनाएका ‘६ एकान ६, वडा नम्बर ६, छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३’ले पनि ५१ दिनको सफल यात्रा पार गरेका थिए। जसमध्ये, ‘छक्का पन्जा’ले एक सय दिन समेत पुरा गरेको थियो। दिपकराज गिरीको अभिनय तथा पटकथा रहेको चलचित्र ‘शत्रु गते’ पनि ५१ दिन मनाउन सफल भएको थियो।