डोल्पा– गत वर्षायाममा आएको काँशिलखोलाको बाढीले विद्युत्गृह बगाएपछि अवरुद्ध भएको फेम्ली अस्पतालको भिडियो एक्सरे सेवा अझै सञ्चालन हुनसकेको छैन।
जिल्लाको मुड्केचुला गाउँपालिका–२ कालिका डोल्पास्थित फेम्ली अस्पतालमा एक्सरे सञ्चालनका लागि आवश्यक विद्युत् नहुँदा बन्द भएको हो। विसं २०६६ मा स्थापना भएको अस्पतालमा इटालियन संस्थाले औषधिदेखि अन्य सेवा निःशुल्क दिने गरेको छ। विद्युत् अभावमा एक्सरे मेसिन सञ्चालन नहुँदा स्थानीयवासी महङ्गो शुल्क तिरेर जिल्ला बाहिर जान बाध्य भएको ल्याव टेक्सिसियन नेत्रबहादुर शाहीले बताए। इल, रिजिङ सर्मी, ओक्ट, होर्त, सुर, नर्कु र लहँका स्थानीयवासीले उक्त ठाउँबाट सेवा लिँदै आएका छन्।
चिसो बढेकाले निमोनिया, रुघाखोकी अन्य रोगका बिरामी अस्पताल उपचारका लागि आउने भए पनि एक्सरे सेवाबाट भने बञ्चित हुनुपरेको छ। त्यस्तै प्रयोगशालाको काम प्रभावित हुँदै आएको छ। घाम राम्रो नलाग्दा काम गर्न समस्या भएको डा कृष्ण अधिकारीले जानकारी दिए। २४ घण्टा सञ्चालन हुने यो अस्पताल आजभोलि चिसोका कारण १० देखि ४ बजेसम्म मात्र सञ्चालन हुने गरेको छ। रासस