एजेन्सी– ब्रिटेनको राजधानी लन्डनको केन्द्रस्थित लन्डन ब्रिजमा भएको घटनामा केही मानिस घाइते भएको विश्वास गरिएको प्रहरीले बताएको छ।
मेट्रोपोलिटन प्रहरीले उक्त पुलनजिकै अवस्थित परिसरमा स्थानीय समयानुसार दिउँसो दुई बज्न लाग्दा चक्कु प्रहारको घटना भएको भन्दै आफूहरूलाई बोलाइएको बताएको छ।
मेट प्रहरीका अनुसार एक पुरुषलाई प्रहरीले गोली प्रहार गरेको छ। उसले यो घटना अझै अस्पष्ट भएको भए तापनि ’आतङ्कवादी घटना झैँ’ गरी व्यवहार गरिरहेको बताएको छ।
प्रहरीले अर्का एक पुरुषलाई पक्राउ गरिएको पनि बतायो। प्रधानमन्त्री बोरिस जन्सनले ट्वीट गर्दै आफूले उक्त घटनाबारे लगातार जानकारी लिइरहेको भन्दै प्रहरी तथा आपत्कालीन सेवा प्रदायकहरूलाई धन्यवाद दिएका छन्।
‘ठूलो घटना’
लन्डनको एम्बुलेन्स सेवाले ‘ठूलो घटना’ भएको बताएको छ। लन्डन ब्रिजलाई प्रहरीले बन्द गराइदिएका छन्। त्यहाँ बीबीसीका एक पत्रकारले गोली चलेको आवाज सुनेका छन्।
बीबीसी संवाददाता जोन म्याकम्यानसले पुरुषहरूको एक समूह सो पुलमा झगडा गरिरहेको देखेको बताए। प्रहरी आइपुगेपछि त्यहाँ गोली चलेको उनले जानकारी दिए। उसले त्यस क्षेत्रमा रहेका मानिसहरूलाई काममा खटिएका प्रहरी अधिकारीहरूको सुझावलाई मान्न आग्रह गरेको छ।
म्याकम्यानसले बीबीसी न्यूज च्यानललाई भने, “केही समयअघि म लन्डन ब्रिजबाट हिँडिरहेको थिएँ। त्यहाँ छेउमा एउटा झगडा भइरहेको देखियो। त्यहाँ एकजना व्यक्तिलाई धेरै जनाले आक्रमण गरिरहेका थिए। त्यसलगत्तै प्रहरी आइपुग्यो र केही राउन्ड गोली चल्यो।’’ घटनास्थलमा प्रहरी तथा एम्बुलेन्स देखिएको र त्यहाँ मानिसहरूलाई जान नदिइएको बताइएको छ। बीबीसी