ललितपुर– ललितपुर महानगरपालिकाले बनाएको साइकल लेन सञ्चालनमा आएको छ।
शनिवार महानगरपालिकाले एक कार्यक्रमका बीच कुपोन्डोल, पुल्चोक, जावलाखेल, लगनखेल हुँदै मंगलबजारसम्म र कुपोन्डोल, पुल्चोकबाट सिधा मंगलबजार पुग्न सकिने गरि साइकल लेन व्यवस्था गरेको जनाएको छ।
साइकल यात्रुको लागि सडकमा छुट्टै बनाईएको साइकल लेन १.५ मिटर चौडाइको रहेको छ। ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौँ उपत्यकालाई साइकलमैत्री सडक बनाउने अभियानको थालनी भएको बताए।
चालु सडकमा नै छुट्याइएको साइकल लेनले शिवपुरी र फुलचोकी जोड्न चाहेको उनले जनाए। हाल महानगरले पाटन दरबार क्षेत्र केन्द्र बनाएर चारै दिशाबाट दरबार क्षेत्रमा आउन चारवटा साइकल लेन बनाउने योजना रहेको बताएको छ।