एजेन्सी – नेपाली मुलकी फुटबलर अस्मिता आले इंग्लिस क्लब एस्टन भिल्लामा अनुबन्धित भएकी छिन्। सोही क्लबको युथ एकेडेमीबाट हुर्किएकी अस्मिताले शुक्रबार क्लबसँग पहिलो व्यवसायिक सम्झौता गरेकी हुन्।
एस्टन भिल्लाको उमेर समूहको टिममा लगातार उत्कृष्ट प्रदर्शन गरेसँगै क्लबले अस्मितासँग शुक्रबार व्यवसायिक सम्झौता गर्दै क्लबमै राख्न सफल भएको हो। उनको सम्झौता रकम भने खुलाइएको छैन। १८ वर्षे डिफेन्डर अस्मिता ८ वर्षको उमेरमा क्लबको एकेडमीमा आबद्द भएकी थिइन्। ‘व्यवसायिक रूपमा फुटबल खेल्ने मेरो सपना हो। क्लबमा व्यवसायिक रुपमा अनुबन्धित हुन पाउँदा खुशी लागेको छ,’ सम्झौतापछि अस्मिताले भनिन्, ‘मलाई एस्टन भिल्ला र स्टाफले भविष्यको लागि यही राख्ने कुरा थाहा पाँउदा आत्मविश्वास बढाएको छ।’
अस्मिताले २०१७–१८ को सिजनमा उत्कृष्ट प्रदर्शन गर्दै क्लबका खेलाडी, व्यवस्थापक र समर्थकलाई प्रभावित पारेकी थिइन्। अस्मिताले इंग्ल्याण्डको यू–१९ राष्ट्रिय फुटबल टिमबाट पनि खेलिसकेकी छिन्। अस्मिताले युइएफए वुमन्स यु–१९ च्याम्पियनसिप छनोटमा केही खेल खेलेकी थिइन्।
आलेको प्रदर्शनले उनलाई अहिलेसम्म सिनियरको भन्दा राम्रो खेल देखिएको र उनी भविष्यमा ठुला स्टार बन्ने मुख्य प्रशिक्षक गेम्मा डेभिसले बताइन्। ‘उनी आफ्नो करयरको शुरुवातमा छिन्। मलाई लाग्छ उनीमा धेरै सम्भावना र सम्भाव्यता छ। उनले आफैले आफैलाई प्रमाणित गरेकी छिन्।’
प्रशिक्षक डेभिसले भनिन्, ‘युथ एकेडेमीबाट खेलाडीहरु ल्याउने र पहिलो टिममा उनीहरुलाई अवसर दिनेमा हामी गर्व गर्दछौं। अस्मिता त्यसको एक उदाहारण हो। यो सम्झौताले युवा खेलाडीहरुप्रति टिम प्रतिबद्धता रहेको देखाउछ। किनकि उनहरुले हामीलाई विश्वास देखाएका छन्।’
तनँहु दमौली पुख्यौली घर रहेका अस्मिताका बुवा अमृत आले पुर्व गोरखा सैनिक हुन्। उनीहरु हाल बेलायतमा बसोबास गर्दै आइरहेका छन्। परिवार नै बेलायतमा रहेपछि अस्मिताले यस्तो मौका पाएको हो। बुवा अमृत पनि स्क्वासका पुर्व राष्ट्रिय खेलाडी हुन्।