सोल– दक्षिण कोरियाली दुई पपस्टारले एक महिलामाथि सामूहिक बलात्कार गरेको अभियोगमा उनीहरुमाथि अदालतले ६ वर्षको जेल सजाय सुनाएको छ।
ती महिलासँगको अवैध ‘सेक्स भिडियो’लाई उनीहरुले सार्वजनिक समेत गरेका थिए। सोलको जिल्ला अदालतले जङ जुन योङमाथि ६ वर्षको जेल सजाय र चोइ जङ हुनलाई पाँच वर्षको जेल सजाय तोकेको हो। स्थानीय मिडियाका अनुसार दुई सेलिब्रिटीले पूर्व तयारी गरेरै भिडियो समेत खिचेका थिए। साथै भिडियो साथीहरुलाई च्याट मार्फत वितरण गरेका थिए।
अदालतका अनुसार उनीहरुलाई पुनरावेदन गर्न एक हप्ताको समय अवधि छ। दक्षिण कोरियाली यी सेलिब्रिटीका टेलिभिजन ड्रामा, फिल्म र पप गीतहरु एसिया र बाहिर पनि चर्चित छन्। दक्षिण कोरियाली मनोरन्जन बजारमा यसअघि पनि विभिन्न काण्ड बाहिर आएका छन्।
यसअघि मात्रै पप म्युजिसियन र अभिनेत्री गू हारा आफ्नै निवासमा मृत भेटिएकी थिइन्। मिडियाका अनुसार उनी केही समयदेखि आफ्नै पूर्वप्रेमीबाट ‘ब्ल्याकमेलिङ’ खेप्दैआएकी थिइन्।