एजेन्सी–संयुक्तराज्य अमेरिकाको साउथ डकोटा राज्यमा विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। शनिबार भएको विमान दुर्घटनामा ९ जनाको मृत्यु भएको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्थानीय उद्धारकर्मीका अनुसार हिउँदे हिउँआँधीमा परेर दुर्घटनाग्रस्त भएको उक्त विमानमा यात्रारत अरु तीन जना सख्त घाइते भएका छन्। मृत्यु हुनेहरुमा दुई बालबालिका समेत रहेका छन्। एकल इन्जिनको पिलाटस पिसी–१२ नामको उक्त बिमान च्याम्बरलेन विमानस्थलबाट उडेको केही समयभित्रै दुर्घटनाग्रस्त भएको अमेरिकी संघीय उड्डयन कार्यालयले जनाएको छ।
मृत्यु हुनेहरुमा विमानका पाइलट पनि रहेका छन्। विमानमा कूल १२ जना सवार थिए। उक्त बिमान छिमेकी इडाहो राज्यको इडाहो फल्स क्षेत्रीय विमानस्थलतर्फ उडिरहेको थियो। अमेरिकी सञ्चार माध्यमका अनुसार घाइतेहरुलाई राज्यको सिओक्स फल्स नामक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।
अमेरिकी नागरिक उड्डयन कार्यालयले उक्त बिमान दुर्घटनाका बारेमा छानबिन थालेको जनाएको छ। साउथ डकोटाको च्याम्बरलिन क्षेत्रमा बाक्लो हिउँ सहितको आँधी आएका कारण बिमानका उडानहरु प्रभावित भएका छन्।रासस