तस्वीरः अनलाइन खबर
एजेन्सी–नेपाली चलचित्र विश्वव्यापी रुपमा लोकप्रियता बन्दै गएको छ। चलचित्र ‘मारुनी’ जापानमा प्रदर्शन गरिएको छ। जापानको नागोया फुसीमा मिलिओन थिएटरमा यो चलचित्रको प्रदर्शन गरिएको छ। चलचित्रको जापान प्रदर्शनीका लागि नायक पुष्पल खड्का र निर्मात्री पूनम गौतम जापान पुगेका छन्।
चलचित्र हेर्नका लागि दर्शकको उपस्थिती राम्रो रहेको निर्मात्री पूनम गौतमले बताइन्। चलचित्रलाई जापानमा विनोद कुमार सापकोटा र शर्मिला डंगोलले आयोजना गरेका हुन्। नेपालमा समेत राम्रो प्रतिक्रिया पाएको चलचित्रलाई जापानका दर्शकले पनि राम्रो प्रतिक्रिया दिएका थिए।
चलचित्रको शो जापानको टोकियो र ओसाकामा पनि हुने निर्मात्री गौतमले जानकारी दिइन्। यसैविच, यो चलचित्र अष्ट्रेलियामा पनि प्रदर्शन हुने तयारीमा छ। डिसेम्बर २७ मा अष्ट्रेलियाको सिभिक थिएटर, हर्स्भिलमा पनि यो चलचित्रको प्रदर्शन हुन लागेको हो। यो चलचित्रमा पुष्पसँगै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ। यो चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन्।