तस्वीरः अनलाइन खबरबाट
काठमाडौं–नेपाली चलचित्रमा नायिकालाई कमजोर चरित्रमा चित्रण गरिएको हुन्छ, तर पछिल्लो समय केही चलचित्रमा नायिकाले पनि नायक जतिकै मात्र नभएर अझैं साहसी भूमिका पनि काम गरिरहेका छन्। शुक्रबारदेखि रिलिजमा आएको चलचित्र ‘सरौतो’ ले भलै हलमा दर्शक तान्न सकेन, तर यो चलचित्रबाट नायिका सुमी मोक्तानले भने संभावना देखाएकी छिन्। केही चलचित्रमा सह–नायिकाको रुपमा काम गरेकी सुमीले यो चलचित्रमा भने केन्द्रिय भूमिकामा काम गरेकी छिन्।
चलचित्रमा बोल्न नसक्ने एक यूवतीको भूमिकामा देखिएकी सुमीले हरेक फ्रेमका लागि मिहिनेत गरेकी छिन्। उनको अभिनयको तारिफ गर्न सकिन्छ। तर, उनले चलचित्रमा गरेको एक्सन भने दर्शकका लागि अर्को आकर्षण हो। मार्सल आर्टको करिब २ बर्ष तालिम लिएर यो चलचित्रमा काम गरेकी सुमीले आफूलाई एक्सन नायिकाको रुपमा प्रस्तुत गर्न कुनै कसरी बाँकी राखेकी छैनन्।
हरि हुमागाँइ निर्दे्शित यो चलचित्रले बदलाको कथा भन्छ। चलचित्रको कथावस्तु सामान्य छ। सानो कथामा चलचित्र बगेकाले पनि निर्देशकलाई २ घन्टा १८ मिनेट चलचित्र बगाउन धेरै ठाउँमा समस्या देखिएको छ। जसले गर्दा, उनले एउटै दृश्यलाई बारम्बार दोहोर्याएका छन्। चलचित्रमा केन्द्रिय पात्रले जित्दा दर्शकमा विजयको महशुश हुँदैन। चलचित्रमा भावना प्रस्तुत गर्न नसक्नु हरिको कमजोरी हाे। नायिका सुमी मोक्तानले चलचित्रबाट आफूलाई एक्सनमा अब्बल नायिकाको रुपमा प्रस्तुत गरेकी छिन्। सुमीलाई लिएर राम्रो कथामा एक्सन चलचित्र बनाउने हो भने, यसले दर्शकमो नयाँ खालको स्वाद दिने पक्का छ।