काठमाडौँ, १६ माघ –अभिनेता रमित ढुङ्गानाले नयाँ चलचित्रमा काम गर्ने भएका छन्। माघ १४ गते रमितले एउटा चलचित्रमा साइन गरेका थिए। उनले करिब २ वर्षपछि चलचित्रमा साइन गरेका हुन्। अनटाइटल चलचित्रमा उनले १८ लाख रुपैयाँ पारिश्रमिक बुझेका छन्। निर्मात्री र अभिनेताबीच औपचारिक रूपमा कागजी सम्झौता भएको पनि उनले बताए।
रमित अभिनित यस चलचित्रलाई बिचल किराँतीले निर्देशन गर्ने भएका छन्। चलचित्रको छायाङ्कन चैत पहिलो साताबाट शुरु हुँदैछ। एक्सन हिरोका रूपमा चिनिएका रमितले निकै चलचित्रहरूमा आफ्नो प्रस्तुति दिइसकेका छन्।
कथावस्तु मन परेर अभिनय गर्न राजी भएको रमितले बताए। उनले भने, ‘धेरैपछि मलाई स्क्रिप्ट मन पर्याे मैले निर्वाह गर्ने चरित्र पनि गजब लाग्यो। निर्देशकको कन्फिडेन्टले गर्दा पनि चलचित्र छाड्न सकिनँ।’ उनले यसका लागि आफूले निकै मेहनत गर्नुपर्ने बताए।
उनले थपे, ‘मेरो क्यारेक्टर हिरोको हो, हल्का साइको पनि छ। मेरो भूमिकाले दर्शकलाई निराश बनाउँदैन भन्ने लागेपछि चलचित्र गर्न तयार भएको हुँ।’ यस चलचित्रका लागि अभिनेत्रीको भने फाइनल भइसकेको छैन।
निर्देशक किराँतीले चलचित्रमा रमितको पारिश्रमिक १८ लाख र यसको लागत १ करोड रुपैयाँ हुने बताएका छन् । रमित पनि चलचित्रका लागि १८ लाख रुपैयाँ बुझेको स्वीकार गर्छन्। सरु राईले निर्माण गर्ने यस चलचित्र ‘किराती इन्टरटेन्मेन्ट’को ब्यानरमा बन्नेछ।अभिनेता रमित आफ्नै होम प्रोडक्सनबाट ‘पृथ्वीनारायण शाह’ नामक फिल्म बनाउने तयारीमा छन्। तर, गहन विषय भएका कारण उक्त चलचित्र निर्माण हुन केही समय अझै लाग्ने उनले बताए।
यसअघि चलचित्रमा कुशल कलाकारको पहिचान बनाएका नायक रमित केही वर्ष यो क्षेत्रबाट टाढा रहे। उनको पछिल्लो रिलिज चलचित्र ‘बुद्ध वर्न इन नेपाल’पछि उनी अभिनित कुनै चलचित्र प्रदर्शनमा आएका छैनन् भने उनले कुनै फिल्ममा काम पनि गरेका छैनन्। ‘बुद्ध वर्न इन नेपाल’को च्यारिटीमा उनी लामो समय व्यस्त थिए।