काठमाडौं _ सरकारले मासुजन्य वस्तुको आयातलाई निरुत्साहित गर्दै उत्पादन बढाउने नीति अबलम्वन गरेको छ। कुखुराको मासुमा मुलुक करिब करिब आत्मनिर्भर भएको भन्दै भारतबाट आउने जिउँदो कुखुरामा समेत व्यवसायीले स्वनियमन गरिरहेका छन्।
वैधानिक रुपमा तयारी मासुको आयात भने नेपालमा न्यून छ। तर मुलुकमा ठूलो परिमाणमा अवैध मासु भित्रिरहे पनि त्यसको नियन्त्रण गर्न सकिएको छैन। भन्सार कार्यालयको बाटो हुँदै हजारौँ किलो मासु भित्रिरहेको हालैको एक घटनाले पुष्टि गरेको छ। दुईवटा गाडीमा हालेर भारतबाट ल्याइएको ६० लाख मूल्यको १२ हजार किलो मासु बरामद भएसँगै बाह्य मुलुकबाट अवैधरुपमा ठूलो परिमाणको मासु भित्रिने गरेको तथ्य खुलेको हो।
करिब पाँचरसात वर्ष अघि यसैगरी अवैधरुपमा भित्रिएको एक कन्टेनर मासु धादिङको धार्केमा नष्ट गरिएको थियो। त्यसपछि यति ठूलो परिमाणको मासु बरामद नभएको पशुसेवा विभागका वरिष्ठ पशु अधिकृत डा चन्द्र ढकाल बताउँछन्। राजश्व अनुसन्धान विभागले बरामद गरेको १२ हजार किलो मध्ये दशहजार ८०० किलो कुखुराको मासु भेटिएको थियो। बाँकी हाँस, माछा, राँगाको मासु रहेको जनाइएको छ।
सञ्चय गर्न नसकिने भएकाले मासुलाई खाल्डोमा हालेर नष्ट गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए। मासु आयातमा भन्सार कर्मचारीकै मिलेमतो रहेको आशंकामा विभागले अनुसन्धान केन्द्रित गरेको छ। ’कुन तहको सहभागिता छ भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्छ। अहिले कर्मचारीको बयान लिने काम भइरहेको छ’, एक अनुसन्धान अधिकृतले भने। उक्त मासु भारतको गुजरातबाट ल्याइएको हो। त्यहाँबाट वीरगञ्ज या भैरहवा नाका हुँदै मासु आउनु पर्नेमा २५० किलोमिटर टाढा पर्ने सर्लाहीको मलंगवा नाकाबाट मासु भित्रिएको छ।
अन्य नाकाबाट नसक्ने देखेपछि उनीहरूले मलंगवा नाका रोजेको विभागका एक अनुसन्धान अधिकृतको दावी छ। उनीहरूले ‘एसी भ्यान’ मा राखेर मासुसँगै आलु चिप्सलगायतका खाद्य वस्तु भित्र्याएका थिए। अन्य चिजवस्तु न्यून देखाएर भन्सार छलेको र मासु भने अवैधरुपमा भित्र्याएको पाइएको छ। मासु आयातमा प्रयोग भएको दुई वटा गाडी पनि नियन्त्रणमा लिइएको छ।
मासु आयातमा संलग्न चार जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको विभागका महानिर्देशक मैनालीले बताए। राजश्व छलीको आरोपमा पक्राउ पर्नेमा सिआर ट्रेडिङका सञ्चालक सर्लाहीकी रिङ्कु चौधरी र काठमाडौँको दीपज्योति इन्टर प्राइजेजका वासुदेव मरहठ्ठा छन्। एउटा गाडीका चालक र सहचालक पनि पक्राउ परका छन् भने एक चालक फरार रहेको विभागले जनाएको छ। सामान कात्तिक २० गते भित्रिएको हो। उनीहरूले मलंगवाबाट सामान भित्र्याउँदै छन् भन्ने सूचना प्राप्त भएपछि विभागको टोली खटिएको थियो।
सर्लाहीबाट सामान भित्रिएपछि विभागको टोलीले पिछा गरेका थिए। थानकोट नाका भित्रिएपछि सामान नियन्त्रणमा लिएर उनीहरुलाई पक्राउ गरिएको हो। विभागले गाडी मूल्यांकनको चरणमा पठाएको छ भने मासुबाहेकका अन्य सामान ७० लाखमा लिलाम गरेको छ। ’सामान ल्याउँदा भन्सार घोषणा गर्नुपर्छ। तर कुनै पनि प्रक्रिया र्पुयाइएको पाइएन।
सोझै आर्थिक अपराध गरेको देखिन्छ’, महानिर्देशक मैनालीले भने। उक्त कम्पनीले यसअघि पनि ८र१० पटक यसैगरी सामान आयात गरेको देखिएको छ। उनीहरूले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण ऐन) २०५२ को कसुर गरेको आरोपमा मुद्दा चलाउने तयारी गरिएको विभागले जनाएको छ। दोषी प्रमाणित भए बिगो असुल गरी दोब्बर जरिवाना तथा तीन वर्षको कैद सजाय हुनेछ।
विभागले राजश्व छलीमा मात्रै गत डेढ वर्षको अन्तरालमा सय जनाविरुद्ध सात अर्ब बिगो बराबरको राजश्व छली गरेको आरोपमा मुद्दा चलाएको छ। चालू आर्थिक वर्षमा मात्रै दुई अर्ब बिगो बराबरको राजश्व छलीमा मुद्दा चलाएको छ। रासस