काठमाडौं– लागूऔषध एम्फेटामाइन (आईस) १ किलो २२९ ग्राम, कोकिन ९० ग्राम र यावा ८ सय ८१ ट्याबलेटसहित एक जना प्रक्राउ परेको छ।
विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले गोरखा घर भई काठमाडौं बस्दै आएका ओडगेन लामालाइ काठमाडौंबाटै पक्राउ गरेको हो। प्रहरीको अनसार आइतबार उनलाई काठमाडौंको धुम्वाराहीस्थित सडक किनारबाट लागूऔषधसहित पक्राउ गरेको हो।
उनको साथबाट लागूऔषध एम्फेटामाईन (आईस) २९ ग्राम, कोकिन ४ ग्राम र यावा ९९ ट्याबलेटसहित पक्राउ गरी अनुसन्धानपछि लामाको कोठामा समेत खानतलासी गर्दा निजले लुकाई राखेको लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २०० ग्राम, कोकिन ८६ ग्राम र यावा ७१२ ट्याबलेट गरी कुल जम्मा लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २२९ ग्राम, कोकिन ९० ग्राम र यावा ८८१ ट्याबलेट बरामद भएको प्रहरीले जानकारी दिएको छ।
यसअघि पनि लामा २०६२ असोज ७ गते ५६ किलो ४ सय ग्राम लागूऔषध चरेससहित पक्राउ परेका थिए। ब्युरोले उनीविरुद्ध मुद्दा दर्ता गरी कारबाही गर्दा उनले २ वर्ष ६ महिना कैद भुक्तान गरेका थिए।